२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’गरेः वरिष्ठ अधिवक्ता त्रिपाठी(भिडीयोसहित )



अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताउनुभएको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताउनुभएको हो । उहाँले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताउनु भयो ।

गठबन्धन र तालमेलको नाममा मतदाताको रोजाईको उम्मेदवारलाई मतदान गर्न नसकिएको उहाँको भनाई छ । उहाँले ठूला नेताहरु कसलाई कहाँबाट जिताउने भन्ने पहिले नै पक्का भइसकेकाले नो नट अगेन जति भनेपनि प्रभावकारी नहुने बताउनु भयो । त्रिपाठीले निर्वाचनपछि पनि देश अस्थिरतामा जाने निश्चित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन भनेकै के हो भने मतदातालाई फुल च्वाइस दिनुप¥यो । तर के भइदियो भने यो गठबन्धन भन्यो । अर्को तालमेल भन्यो । मतदाताले आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने अवस्था छैन । चाहेको पार्टीलाई भोट हाल्ने अवस्था छैन । त्यो सूची नै छैन कतिपय निर्वाचन क्षेत्रमा । आफूले चाहेकोमा गर्न सक्दैन । म्याच फिक्सिङ पहिल्यै भइसकेको छ, कसलाई जिताउने, कहाँबाट जित्ने ।’

‘ठूला नेताहरु सबै सुरक्षित छन् । उनीहरुलाई जनताले जतिसुकै नो नट अगेन भनेपनि यथार्थमा त्यो होला जस्तो छैन । किनभने म्याच पहिल्यै फिक्स भइसकेको छ । को जित्ने, को हार्ने । सबै डिजाइन गरिएको छ । यसले निर्वाचनपछि पनि कुनै स्थिरतमा जाँदैन । यसले गम्भिर अस्थिरताको दौड शुरु गर्नेछ । किनभने अहिले सबै प्रधानमन्त्रीको उम्मेदवार छन् । सबै कुरा अनिश्चित छ । यो लोकतान्त्रिक प्रणालीको मजाक हो ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीले समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बताउनु भयो । उहाँले निर्वाचन नजित्नेलाई थन्काउनका लागि मात्रै समानुपातिक निर्वाचन प्रयोग भएको टिप्पणी गर्नुभयो । त्यस्तै समानुपातिकको टिकट बिक्री हुने भएकाले लक्षित समुदायले पाउन नसकेको उहाँले बताउनु भयो ।

उहाँले निर्वाचन आयोगको विश्वसनीयतामा गम्भिर प्रश्न उठेको बताउनु भयो । निर्वाचन आयोगको पञ्चायती मानसिकता रहेको र पञ्चायतकालमा अञ्चलाधीशले गर्नेजस्तो काम आयोगबाट भइरहेको उहाँले टिप्पणी गर्नुभयो । संविधान मिचेर अध्यादेशबाट नियुक्त भएका आयुक्तहरु भएकाले उनीहरुलाई संविधान, कानून र लोकतन्त्रको मतलव नभएको उहाँले बताउनु भयो ।

अधिवक्ता मोहना अन्सारीले निर्वाचन आयोग पार्टीको छाँयाको रुपमा चलिरहेको बताउनु भयो । आयोगले खर्चको सीमा तोकेको भएपनि राजनीतिक दलहरुले धेरै खर्च गरिरहेको भएपनि नियन्त्रण गर्न नसकको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘निर्वाचन महंगो भयो । आयोगले नियन्त्रण गर्न सकेन । निर्वाचन आयोग संवैधानिक आयोग हो । तर यसो हेर्दाखेरी पार्टीको छायाँ हो । पार्टीको छायाँमा ऊ चलिरहेको छ भन्ने देखिन्छ । दिनप्रतिदिन महंगो निर्वाचनमा जाँदैछौँ । यसले भ्रष्टाचारतिरै इंकित गर्छ ।’

उहाँले निर्वाचनमा धेरै पैसा खर्च हुनुले भ्रष्टाचार हुँदैछ भन्ने इंकित गरेको बताउनु भयो । उहाँले कम खर्चमा स्वच्छ र निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।