२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिक गायकका दोहोरी मोह



अ+ अ-

काठमाडौं । आधुनिक गायनमा खुबै जमेका गायक हेमन्त शर्मालाई दुई वर्षअघि यम थापामगरले लोक दोहोरी गीतका लागि प्रस्ताव गरे। गीत मन परेपछि शर्माले दोहोरी गाउन पनि आँट गरे। उनले पहिलो पटक लोक दोहोरी गीत ‘वनमारा’ गाए। शर्माले दोहोरी गीत गाउँदा  नेपाली संगीत बजारमा बेग्लै चर्चा सुरु भयो। आधुनिक गायनमा छुट्टै पहिचान कमाएका उनले लोकदोहोरीमा अत्याधिक रुचाइएकी गायिका विष्णु माझीसँगको गीत नौलो पनि भयो।

त्यसपछि उनलाई लोकदोहोरीमा पनि अफर आउन थाले। ‘राम्रो गीत भएमा जुनसुकै विधाको पनि गाउन मन लाग्छ। त्यसमा पनि दोहोरी गीतले आफूलाई महत्वपूर्ण विधामा स्थापित गरेझैं लागेको छ,’ उनले भने, ‘दोहोरी गाएपछि मात्रै पूर्णरुपमा नेपाली गायक भएझै भएको छ।’ 

विदेश जाँदा पनि अन्य गीतभन्दा दोहोरीमा दर्शक बढी रमाएको उनले पाएका छन्। त्यसैले दोहोरी गाएपछि मात्रै उनले पूर्णरुपमा नेपाली गायक भएको अनुभव गरेका छन्। शर्माले पप, आधुनिक, लोक गीत गाएका छन्। यसअघि लोक शैलीका थुप्रै गीत गाए पनि ठेट लोकदोहोरी चाहिँ पहिलो पटक गाएका हुन्। 

सुगम संगीतमा कहलिएका अर्का गायक स्वरुपराज आचार्य नेपाली मौलिक भएका कारण दोहोरी गीत मन पराउँछन्। आफूले नगाए पनि उनले  दोहोरी गीत पहिलेदेखि नै मन पराउथे। दोहोरी गीत रुचीको विषय भए पनि आफैले गाउँछु भन्ने कहिल्यै सोचेका थिएनन्। शब्द संंगीत मन परेपछिको प्रभावले उनले हालसालै ‘डाँडाघरे साइली’ गीत गाएका छन्। सांगीतिक जीवन यात्रामा उनले गाएको यो गीतले स्रोतामाझ फरक पहिचान पनि बनाएको छ।  

संगीतकार श्रीकृष्ण बम मल्लले स्वरुपलाई दोहोरीमा डो¥याएका हुन्। ‘सुरुमा त आँट नै आएन। लामो अभ्यासपछि गाएको गीतले दर्शकमाझ लोकप्रियता पायो, स्वरुप भन्छन्, ‘लोकगीत भनेर मान्छेले हेप्छन्। तर, यो गाउन निकै कठिन हुने रहेछ। मैले ठेट मौलिक दोहोरी बारे जान्ने मौका पाएँ।’ 

आधुनिक गायनमा कहलिएका अर्का गायक प्रमोद खरेल पनि दोहोरी गाएर चर्चामा छन्। प्रमोद दोहोरीका सर्जकसँगको संगतले त्यस क्षेत्रमा प्रवेश गरेका हुन्। पहिलो पटक दोहोरी विधाको ‘धरोधर्म विद्यानास’ गीत उनले गाएका हुन्। यो गीतले उनका प्रशंसकहरु खुसी भएका छन्। श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्दमा खरेलले  गायिका लक्ष्मी मल्लसँग स्वर दिएका छन्। आफ्ना दर्शकस्रोतालाई फरक स्वाद दिन पाउँदा उनी निकै खुसी छन्। 

दोहोरीको वातावरण उनको गाउँमा थिएन। काठमाडौं प्रवेश गर्दासम्म पनि उनलाई दोहोरी बारे खासै ज्ञान थिएन। कन्सर्टका क्रममा गाउँबस्तीमा दोहोरीको प्रभाव देखेपछि उनी त्यसबाट प्रभावित भएका हुन्। ‘देशभर कन्सर्टमा हिड्ने क्रममा सर्जक, गायक गायिकासँगको संगत र उनीहरुको गीत सुन्दासन्दै दोहोरीमा रस पस्न थाल्यो’, प्रमोदले भने, ‘हाम्रो माटोको पहिचान र कला संस्कृतिले बेग्लै छाप छोडेपछि त्यसमा मन तानियो।’ 

आधुनिक संगीतमा चर्चाको शिखरमा रहेका तीन गायकको दोहोरी गायनले स्रोताले नयाँ स्वाद पाएका छन्। गायक हेमन्त शर्मा, स्वरुपराज आचार्य र प्रमोद खरेलको  दोहोरी विधाको प्रवेशलाई स्रोताले पनि फरक स्वादका रुपमा लिएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।