२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही समयसम्म गठबन्धन रहन्छ– प्रधानमन्त्री देउवा



अ+ अ-

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा आइपुग्नुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँचदलीय गठबन्धन बनेको स्मरण गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन एक भएको बताउनुभयो ।

आजै गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री देउवाले जिल्ला सदरमुकाममा आयोजना गरिएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्नुभएको हो । सभामा उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको स्पष्ट पार्नुभयो ।

ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको घटना, लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेताको सहयोगमा आफूले नेतृत्व लिएको उहाँको भनाइ थियो ।

जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गर्नुभयो । “त्यसैले यो गठबन्धन देशको आर्थिक समुन्नति र बेरोजागारीका साथै समृद्ध नेपाली नबनेसम्म रहिरहन आवश्यक छ”, उहाँले भन्नुभयो ।

उहाँले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उहाँले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिनुभयो । अन्य ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उहाँले स्पष्ट गर्नुभयो ।

प्राचीन धरोहर र मौलिकता ओगटेका कुरालाई जोगाएर राख्नका लागि जिल्लावासीलाई प्रधानमन्त्री देउवाले आग्रहसमेत गर्नुभयो । स्थानीयस्तरमा बजार तथा गाउँका नाम परिवर्तन गर्दा मौलिकता हराउँदै गएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सङ्कोच नगर्नसमेत जिल्लावासीलाई अनुरोध गर्नुभयो । आफूलगायत गठबन्धनका नेताले एक–अर्काको पार्टीलाई पटक–पटक भोट हालेको जनाउँदै जिल्लावासीलाई पनि कुनै द्विविधामा नरही गठबन्धनबाट उम्मेदवार बनेका नेतालाई जिताउन अपिलसमेत गर्नुभयो ।

प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी आरजु देउवा राणा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी पोलिटब्यूरो सदस्य खगराज भट्ट, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष नन्दराज भट्ट, जगत् पार्कीलगायतका नेताले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि जिल्लावासीलाई अनुरोध गर्नुभयो ।रासस