२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । उनीविरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । अहिले इजलासले उनको बयान लिइरहेको छ । बयान सकिनेबित्तिकै आजै थुनछेक बहस सुरु हुनेछ ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथि १२ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्दीपलाई पक्राउ गरेको थियो । उनीमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो।

आरोपित सन्दीपविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले अनुसन्धान पूरा गरेर कात्तिक ४ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर बीचमा तिहार सुरु भएकाले उनीविरुद्ध मुद्दा दर्ता हुन सकेको थिएन ।

उनीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । सो दफाको उपदफा ३ को ९घ०मा १२ वर्षसम्म कैद सजाय मागदाबी गर्न सकिने व्यवस्था रहेको छ ।

सो उपदफाको ९घ० मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय माग दाबी गर्न सकिने उल्लेख छ ।

प्रहरीले पीडितलाई क्षतिपूर्ति दिनका लागि सन्दीपको सम्पत्ति पनि छानबिन गरेको बताइएको छ । मुद्दामा पीडितलाई क्षतिपूर्तिको पनि माग दाबी गरिएको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध होटलका सिसिटिभी फुटेज, बयान र अस्पतालको रिपोर्टलगायत प्रमाणका रुपमा पेश गरेको छ ।

क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान जिकिर गरेका छन् ।

प्रहरीले अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको बयान समावेश गरिएको छ । जसमा उनले आफू जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको र नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ ।

राति एउटै कोठामा बसेको स्वीकार गरे पनि एउटै बेडमा नसुतेको सन्दीपले बयान दिएका छन् । किशोरी बेडमा र आफू कुर्सीमा बसेर लामो समय कुराकानी गरेको तथा आफू कुर्सीमै केहीबेर निदाएको उनले बताएका छन् । बिहान उठेर आफूले किशोरीलाई आफ्नै गाडीमा होस्टलसम्म पुर्याइदिएको उनको भनाइ छ ।

उता सन्दीपविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि सन्दीपले राति दुई पटक जबरजस्ती गरेको आरोप लगाएकी छन् ।

सोमबार प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा समावेश बयानमा उनले सन्दीपले झुक्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति दुई पटक करणी गरेको दाबी गरेकी हुन् ।

आजदेखि प्रतिवादीको बयान लिएर थुनछेक बहस सुरु हुनेछ । अदालतले बुधबार साँझसम्म फैसला गर्ने अनुमान गरिएको छ ।