• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

पुस पन्ध्रमा तीन चलचित्र प्रदर्शन गरिने



काठमाडौँ । आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन ।

यही काक्तिक ४ गते दुई चलचित्र के घर के डेरा र नालापानी प्रदर्शन हुँदा मङ्सिरमा प्रदर्शन नहुनुलाई निर्वाचनको रौनक बढेसँगै चलचित्रका गतिविधि छायाँमा पर्ने डर हुनसक्ने निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताउनुभयो । उहाँले आफू निर्मित चलचित्र ‘महापुरुष’ लाई कात्तिकमै प्रदर्शन गर्नाको कारण आउँदो निर्वाचनसँगै विश्वकप फुटबल रहेको जानकारी दिनुभयो ।

“जाडोको समय, चुनावी रौनक लगत्तै विश्वकप फुटबलका साथै आउँदो डिसेम्बर र जनवरी महिनामा ठूला विदेशी चलचित्र आउने भएकाले पनि नेपाली चलचित्र प्रदर्शन तय नगरिएको हुनसक्छ”, निर्माता बानियाँले भन्नुभयो ।

नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गरेको पाइएको लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस अगाडि पनि विश्वकपको समयमा धेरै चलचित्र रिलिज भएका थिएनन् । साथै यसपटक छिमेकी मुलुक भारतका ठूला चलचित्रहरू पनि छन् ।”

आउँदो पुस १५ मा भने तीन चलचित्र प्रदर्शन गरिने घोषणा गरिएको छ । बलिउडको चलचित्र नआउने भएपछि ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’को प्रदर्शन गर्ने घोषणा भइसकेको छ । शिर्षकमै कथा जोडिएकोले आफ्नो चलचित्र ‘डिसेम्बर फल्स’ लाई डिसेम्बरकै अन्तिम साता प्रदर्शन गर्न लागिएको निर्माता रामप्रसाद रिजालले बताउनुभयो ।

“हाम्रो छायाङ्कनलाई कोरोनाका कारण भएको लकडाउनले असर गरेको थियो । अहिले काम सकाएपछि नामसँगै मिल्दोजुल्दो प्रदर्शन मिति तय गरेका हौँ”, निर्माता रिजालले भन्नुभयो, “सस्पेन्स र थ्रीलर कथामा आधारित चलचित्र तयार भएको छ ।”

ऋचा शर्माले आफू अभिनित तथा निर्मित चलचित्र ‘कौसीद’ ऋणको चपेटामा परेको पात्रको जीवनको भोगाइ देखाइएको बताउनुभयो । उक्त चलचित्रमा उहाँसँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईले अभिनय गर्नुभएको छ ।

हरर थ्रिलर कथामा ‘चि मुसी चि’ निर्माण भएको निर्देशक मार्ना जेम्सले जानकारी दिनुभयो । “यश सैनीसँग मिलेर मैले फिल्म निर्देशन गरेकी छु । सहायक हुँदै निर्देशनमा डेब्यु गरेकी हुँदा यो चलचित्र मेरा लागि खास छ”, निर्देशक जेम्सले भन्नुभयो । उक्त चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ ।

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताउनुभयो । “हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन । अगाडि पछाडिको शुक्रबार खाली हुँदा हुँदै पुस १५ मै तीन चलचित्र प्रदर्शनको घोषणा गर्नु विदेशी चलचित्र नभएको कारण हुनसक्छ”, महासचिव महर्जनले भन्नुभयो ।