३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित विद्यार्थी संगठन



अ+ अ-

काठमाडौं । विद्यार्थीका हकहितका लागि स्थापना भएका विद्यार्थी संगठन विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको देखिएको छ । कोरोना संक्रमणका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्म पठनपाठन सहज नहुँदा र खोपमा विद्यार्थी प्राथमिकतामा नपर्दा पनि विद्यार्थी संगठनले विद्यार्थीको हकहितमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ । खोप भित्रिएको पाँच महिनापछि विद्यार्थीलाई खोप दिलाउन भन्दै विज्ञप्ति निकाले पनि त्यो विज्ञप्ति औपचारिकतामा मात्रै सीमित भएको विद्यार्थीको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी पूर्णिमा चन्दले भनिन्, ‘कोरोनाविरुद्ध खोप नेपाल भित्रिएको महिनौं बित्यो । भौतिक उपस्थितिसहित अब परीक्षा दिनुपर्ने खोप लगाएको पनि छैन ।’ दाङ घर भई काठमाडौं पढ्दै आएका नेपाल वैद्यले भने, ‘त्रिभुवन विश्वविद्यालयले परीक्षा तोकेको छ । म घरमै छु । सरकारले बन्दाबन्दी अझै खोलेको छैन भन्छ । कसरी परीक्षा दिने ? खोप त परको कुरा भयो ।’

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा गणित विषयको प्रवेश परीक्षा तयारी गरिरहेका रविन घिमिरेले विद्यार्थी संगठनले विद्यार्थीको पक्षमा नबोलेको बताए । उनले भने, ‘वैकल्पिक विधिबाट भए पनि गुणात्मक सिकाइ बनाउन विद्यार्थी संगठनले बहस चलाउनुपर्ने होइन र ? उनीहरू त पेट्रोलको भाउ बढ्यो भने मात्रै सडकमा जान्छन् तर, विद्यार्थीको मागमा बोल्दै बोल्दैनन् ।’

अहिले केही कलेजले अनलाइन क्लासको पूर्ण शुल्क असुलेपछि विद्यार्थी कलेजमा ताला लगाउन विवश छन् । अहिले देशभरका शैक्षिक संस्था प्रायः ठप्प हुँदा लाखौँ विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ । शैक्षिक क्यालेन्डर बिथोलिएको छ भने नियमित परीक्षा समयमा नहुँदा विद्यार्थीको समय खेर गएको छ । यस्तै, कतिपय विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरे पनि विद्यार्थीबाट सतप्रतिशत शुल्क असुल्दै आएका छन् ।

तर, त्यसको मापदण्ड समेत बन्न सकेको छैन । केही शैक्षिक संस्थामा वैकल्पिक सिकाइ इन्टरनेटको पहुँच नहुँदा प्रभावकारी बन्न सकेका छैनन् । काठमाडौंका कलेजमा पढ्दै आएका विद्यार्थी जिल्ला जिल्लामा छन् । उनीहरूका लागि न त सरकारले कोरोनाविरुद्ध खोपको व्यवस्था गरेको छ न त शैक्षिक गुणस्तर सुनिश्चितताको ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले विद्यार्थीका अधिकारका सवालमा राज्यका निकायलाई घचघचाइरहेका बताए । उनले भने, ‘ हामी विद्यार्थीकै हकहितका लागि लागि परेका छौं सेलाएका छैनौं । कोरोनाका कारण विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अवरुद्ध भएको छ । सबै विद्यार्थीहरूलाई जतिसक्दो चाँडो खोपको व्यवस्था हुनुपर्छ भनेर राज्यलाई दबाब पनि दिएका छौं ।’ उनले कोरोना संक्रमणको अवस्थामा विद्यार्थीको पढाइभन्दा जीवन ठूलो भएको बताए ।

अनेरास्वयूका केन्द्रीय अध्यक्ष ऐन महरले कोरोनाबाट शैक्षिक क्षेत्र आक्रान्त बनेको बताए । उनले भने, ‘ विश्वविद्यालयको परीक्षा स्थगित गरेर समस्या समाधान हुँदैन । छिटोभन्दा छिटो परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोपको व्यवस्था गरी अबका परीक्षा सञ्चालन गरिनुपर्छ ।’ उनले विद्यार्थीका अधिकार संस्थागतका लागि आफूहरू लागिपरेको बताए ।

अखिल (क्रान्तिकारी)का नेता कुमार बर्तौलाले विद्यार्थीको हकहितमा आफूहरूले आवाज उठाइरहेका बताए । उनले भने, ‘विद्यार्थीका मुद्दाहरू उठाइरहेका छौं । तर, हामीले उठाएका मुद्दाहरू छायामा परेका छन् ।’ उनले जनस्वास्थ्यका मापदण्ड र भौतिक दूरी कायम गरेर हाल सञ्चालनमा रहेका परीक्षाहरू सञ्चालन गर्नुपर्ने बताएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।