• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

अबको ५ वर्षमा ललितपुरवासीले गुणस्तरिय जीवन जिउने छन्: पम्फा भुसाल(भिडीयोसहित)



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ ।

मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको हो ।

उहाँले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताउनु भयो । उहाँले रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गर्न जोड दिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी ललितपुरवासिका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार हो । यसलाई नै यहाँको हरेक घर, परिवारको आर्थिक उपार्जन सँग जोड्नुपर्दछ । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू हुनुपर्दछ । यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न म प्रतिवद्ध छु ।’

‘अबको ५ वर्षमा ललितपुरवासीको गुणस्तरिय जीवन जिउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान बिन्दु पनि हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुप नीति र कार्यक्रम बनाउनका निम्ति म प्रतिवद्ध छु । आगामी यात्रा कला, संस्कृति र सम्पदाले भरपुर पर्यटकिय क्षेत्रका रुपमा सम्पन्न ललितपुर ।’

‘यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय पूर्वाधारका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति, निर्माण गरी कार्यान्वयन गर्न म लागिपर्नेछु । ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्नेछु । रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गर्नेछौँ ।’

‘हस्तकला केन्द्रहरुको स्तरोन्नति गर्नेछौँ । पर्यटकीय चक्रपथ, हाइकिङ र साइक्लिङ मार्ग निर्माण गर्नेछौँ । स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनर्निमाण र संरक्षण गरी उपयोग गर्नेछौँ । र पर्यटन उद्यमलाई प्रोत्साहन गर्नेछौँ । अब ललितपुरवासिले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ । स्वच्छ वातावरणमा रहेर सामाजिक, आर्थिक गतिविधि गर्न पाउनुपर्दछ । त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माण गर्ने र ललितपुरबासिले गर्व गर्न लायक शहर निर्माण गर्न म विगतमा झैँ प्रतिवद्ध छु ।’