३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइन घटना अनुसन्धानमा भारतको ‘असहयोग’



अ+ अ-

काठमाडौं । तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाका एक युवक बेपत्ता भएको घटनासम्बन्धी अनुसन्धानमा नेपाली टोलीलाई भारतले ‘असहयोग’ गरेको छ । १० दिनभित्र अनुसन्धान नसकिएपछि टोलीलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार ७ दिन म्याद थपिदिएका छन् ।

दार्चुला सदरमुकाम खलंगा जान साउन १५ गते व्यास गाउँपालिका–२, खाङदाङ (मालघाट) मा रहेको तुइनबाट महाकाली नदी तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका थिए । तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्ठा खुस्काउँदा उनी महाकालीमा खसेको स्थानीयको भनाइ छ । घटनाको दुई दिनपछि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको टोली साउन १९ बाटै खलंगालाई मुकाम बनाएर घटनाको प्रमाण संकलनमा जुटे पनि भारतीय पक्षले सहयोग नगरेको स्रोतले जनाएको छ ।

गृहमन्त्री खाँणले राष्ट्रिय सभामा १८ गते र प्रतिनिधिसभामा १९ गते दार्चुला घटनाबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका थिए । छानबिन समितिले स्थानीय र प्रत्यक्षदर्शीसँग कुराकानी तथा घटनास्थलको अनुगमन गरिरहेको छ । तर ठोस प्रमाण हात लागेको छैन । भारतीय प्रशासन घटनामा एसएसबीका जवान संलग्न रहेको आरोप पुष्टि नहुने भन्दै पन्छिएको छ । तुइनको लट्ठा खुस्काउने एसएसबीका जवान पहिचान गरी कारबाहीको दायरामा ल्याउन पिथौरागढस्थित भारतीय जिल्लाधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) को कार्यालयलाई नेपाली पक्षले आग्रह गरेको थियो ।

बेपत्ताको खोजबिन गर्न घटनास्थल हुँदै महाकाली क्षेत्रका दार्चुला, बैतडी र कञ्चनपुर तथा त्यही आसपासको भारततर्फ ड्रोन उडाउने प्रयास पनि विफल भएको छ । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले महाकाली नदीपारि किनारै किनार ड्रोन उडाउन साउन २३ मा पिथौरागढस्थित जिल्लाधिकारीलाई पत्र पठाइएको तर मंगलबार साँझसम्म कुनै जवाफ नआएको बताइन् । पत्र पठाएको भोलिपल्टै प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको प्राविधिक टोली खलंगा पुगेको थियो । महाकाली नदीपारि ड्रोन उडाउन भारतीय प्रशासनको अनुमति चाहिन्छ । भारतले अनुमति नदिएपछि प्राविधिक टोलीले नेपालतर्फको भूभागमा मात्रै ड्रोन उडाएर बेपत्ताको खोजबिन थालेको छ । बेपत्ता धामीको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दुई साता पुग्न लाग्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेकामा सरकार थप गम्भीर बनेको बताए । प्रतिवेदनको राय र सुझावका आधारमा बेपत्ताको परिवारका लागि राज्यका तर्फबाट राहत तथा संरक्षणका विषयमा उचित निर्णय लिइने पनि उनले जनाए । ‘दार्चुला घटनालाई सरकारले गम्भीर रूपमा लिएर नै सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो,’ पोखरेलले भने, ‘समिति अहिले पनि फिल्डमै छ, प्रमाण संकलनको काम भइरहेकै छ ।’ उनका अनुसार घटनाबारे सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धित संयन्त्रसँग पनि छलफल र परामर्श गर्न निर्देशन दिइएको छ ।

धामी महाकालीमा बेपत्ता भएकै भोलिपल्ट साउन १६ मा दार्चुला प्रशासनले अनुसन्धानका लागि पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरूपलाई पत्र पठाएको थियो । त्यही दिन घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै बेपत्ता व्यक्तिको परिवार र स्थानीयले प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए । त्यसको भोलिपल्ट गृहले सहसचिव गौतमको नेतृत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी भट्ट सम्मिलित छानबिन समिति गठन गरेको थियो ।

समितिले साउन १९ मा खलंगा पुगेर काम थालेको थियो । समितिले साउन २१ मा तुइन भएको भारततर्फको ठाउँ गस्कुको निरीक्षण गरेको थियो । साउन २२ मा नेपालतर्फ मालाघाट पुगेको समितिले साउन २३ र २४ मा खलंगामा बसेर समीक्षा गरेको थियो । ‘घटनाको छानबिन जारी छ, प्रमाण संकलनको काम अझै सकिएको छैन,’ दार्चुलाकी सहायक प्रजिअ भट्टले भनिन् ।

बेपत्ता धामीका परिवारले राज्यबाट उचित राहत र संरक्षण आवश्यक रहेको जनाएको छ । छानबिन समितिसमक्ष पनि यसबारे कुरा राखिएको जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।