९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

विकास गाउँतिर, गाउँले सहरतिर

विकास गाउँतिर, गाउँले सहरतिर
अ अ+ अ-

गलेश्वर । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ वटा पालिकाका सबै वडासम्म सडक सञ्जाल पुगेको हो ।

सडक सञ्जालको पहुँच पुगेसँगै पालिकाले विकासमा तीव्रता दिइरहेका छन् । सडक स्तरोन्नति, पक्की पुल निर्माण, घना बस्ती योजना, सिँचाइ, खानेपानी, ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य जाँच, औषधोपचारलगायत, सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पनि नयाँनयाँ रणनीतिक योजनासमेत पालिकाले ल्याएका छन् ।

केही वर्षअघिसम्म टुकी वा दियालोका भरमा साँझ र रात बिताउन बाध्य गाउँलेका घरमा अहिले बिजुली बत्तीे झिलीमिली हुन्छ । गाउँगाउँका स्वास्थ्यचौकीको स्तरवृद्धि भएको छ । हरेक पालिकामा अनुभवी स्वास्थ्यकर्मीसहित सुविधासम्पन्न भवनमा प्रसूतिसहितको सेवा पुगेको छ । गाउँमा पशुपालन तथा कृषिमा लाग्ने किसानलाई उत्पादनमा आधारित अनुदान पालिकाले दिइरहेका छन् ।

विकासका हरेक नमूनाको अभ्यास गर्न यस जिल्लाका पालिका प्रतिस्पर्धात्मक तरिकाले लागिपरेको भए पनि गाउँलेहमा भने थातथलो छोड्नेक्रम घटनाको साटो झन बढेर गएको छ  । जनसाङ्ख्यिक हिसाबले पनि २०५८ को जनगणना र त्यसयताका दुई दशकमा भएका जनगणनाका तथ्याङ्कले समेत म्याग्दीको जनसङ्ख्या क्रमशः घट्दो क्रममा रहेको देखाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजाअनुसार विसं २०६८ को तुलनामा शुन्ना दशमलव ५४ प्रतिशतले जिल्लाको जनसङ्ख्या घटेको हो । विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक जनगणनामा एक लाख सात हजार तीन सय ७२ जना भएको जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताउनुभयो । एक दशकमा जिल्लाबाट छ हजार दुई सय ६९ व्यक्ति घटेका छन् ।

स्थानीय जनप्रतिनिधिले पालिका वडामार्फत बस्तीका बासिन्दालाई स्थानीयस्तरबाट हुनुपर्ने सेवासुविधा दिन र दैलोको सरकारले बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरूपमा पूरा गरेको जिकिर गरिरहँदा बढ्दो बसाइँसराइले भने ती उनीहरुको भनाइ प्रभावकारी देखिँदैन ।

जिल्लाका सबै गाउँपालिकाका केन्द्रसम्म सबै प्रकारका सुविधा पुगेका छन् । स्थानीय सरकार सञ्चालन भएको पाँच वर्षमा जिल्लाका सबैजसो पालिकाका केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नति भएका छन् । पालिकाको केन्द्रदेखि वडाका वस्ती जोड्ने सडक निर्माण भएका छन् । अरू शाखा सडकको पनि स्तरवृद्धि तथा सडक चौडा पार्ने काम तीव्ररूपमा अघि बढेको छ । कतिपय पालिकाले त मुख्य मुख्य तथा आसपासमा बस्ती नभएका माध्यमिक विद्यालयका लागि स्कुल बसको व्यवस्थासमेत गरेका छन् ।

ग्रामीण बस्तीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत समस्या समाधान गर्न र योजना वितरण गर्न वडैपिच्छे योजना सम्झौतासमेत गर्दै आइरहेका छन् । हरेक वडामा प्राविधिक, कृषि तथा भेटेरिनरी जेटिएकोसमेत दरबन्दी छ । गाउँगाउँमा खानेपानी र सिँचाइको व्यवस्था छ ।

ग्रामीण बस्तीमा पूर्वाधार विकासले जतिसुकै फड्को मारे पनि ग्रामीण क्षेत्रका बासिन्दाको बसाइँसराइ भने रोकिएको छैन । पालिकाका पञ्जीकरण शाखाले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैजसो पालिकामा हरेक वर्ष बसाइँ सर्ने बढ्दै गएको पाइएको छ । जिल्लाको मालिका गाउँपालिकाले गत वर्ष गरेको सर्वेक्षणअनुसार विभिन्न वडाबाट एक वर्षको अवधिमा मात्रै ९७ परिवारका एक सय ९३ जनाले बसाइँसराइ गरेको पाइएको थियो ।

त्यस्तै बेनी नगरपालिकाका विभिन्न वडाबाट अघिल्लो वर्ष मात्रै करिब एक सय परिवारले बसाइँसराइको सिफारिस लिएका थिए । अन्नपूर्ण, धवलागिरि, मङ्गला र रघुगङ्गा गाउँपालिकाको हालत पनि उस्तै छ । गत वर्ष मङ्गला र रघुगङ्गाका विभिन्न वडाबाट मात्रै करिब दुई सय परिवारले बसाइँसराइ गरेको तथ्याङ्क छ । त्यसैगरी धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीबाट सुविधा खोज्दै बाहिरिनेको तथ्याङ्क पनि बर्सेनि बढ्दो छ ।

बसाइँसराइ गर्नेमा अधिकांश परिवार तराईका जिल्ला र केही सुविधासम्पन्न सहरबजारमा गएको पालिकाले जनाएका छन् । जिल्लाका सबैजसोले बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्याङ्क निकालिएको पञ्जीकरण शाखाले जनायो । “सुविधाको खोजीमा मानिस गाउँ छोडेर सहर र तराईतिर झर्ने गरेका छन्”, रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले भन्नुभयो, “गाउँमा विकास पुगे पनि हरेक मानिसले त्यहाँभन्दा बढी अपेक्षा गरेर अन्यत्र जाने गरेका छन्, बसाइँसराइको सिफारिस लिन आएकालाई गाउँ छोडेर नजाउ भन्न मिलेन ।”

बसाइँसराइको सिफारिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ । अधिकांश वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँसराइका कारण खुलाइएको छ ।

स्थानीय जनप्रतिनिधिहरुले विकासकै अभावले कसैलाई बसाइँसराइ गर्नुपर्ने अवस्था नरहेको बताए पनि बसाइँसराइ गरेकाहरु भने सुविधाकै खोजीमा आफूहरू गाउँ छोड्न बाध्य भएको जनाउने गरेका छन् । बेनी नगरपालिका वडा नं २ बाट बसाइँसराइ गरी नवलपुरको गौडाकोट नगरपालिका १२ हर्कपुरमा जानुभएकी अम्बिका शर्माले गाउँमा बसेर निर्वाहमुखी खेतीबाहेक अरू केही नहुने हुँदा अर्थोपार्जन र छोराछोरीको शिक्षादिक्षाका लागि बसाइँसराइ गरेको बताउनुभयो । रासस