२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजी अजेय बन्ने या स्टारको जमघट



अ+ अ-

काठमाडौं । अर्जेन्टिना घर भए पनि बार्सीलोना नै घर सरह बनाएका लियोनेल मेसीको यो साइनो टुटेको छ । त्यहीँ बार्सीलोना जहाँ उनले फुटबल सिके, अनि त्यहीँबाट आफूलाई प्रस्फुटित गराए । त्यत्ति मात्र होइन सफलता पनि त्यहीँको क्लबलाई दिलाए । तीनै मेसी यो साता आफ्ना पुराना साइनो भत्काउँदै पेरिस सेन्ट जर्मन ९पिएसजी०मा आइपुगेका छन् । एउटा यस्तो संयोग रह्यो की, कुनै समय बार्सीलोनामै उनीसँग रमाइ रहेका नेइमार पनि अहिले त्यही पिएसजीमा आबद्ध छन् ।

अनि, विश्वकप फुटबल २०१८ का एउटा नायक कायलेन एमबापे त त्यहाँ पहिले देखि नै  थिए । यी नै तीन स्टारको संयोग पिएसजीमा अहिले देखिएको छ । युरोपका एक से एक महारथी शक्ति भन्दा पृथक् फ्रान्सको यो क्लबमा यत्ति धेरै स्टारको जमघटले धेरैलाई आश्चर्यमा पनि पारेको हुन सक्छ । नेइमार र एमबापेको साथमा मेसी सहितको पिएसजीले कत्ति सफलता पाउँछ त्यो हेर्न बाँकी छ । परन्तु यो इतिहासकै एक उत्कृष्ट फुटबल टोली भएको चर्चा गर्नेको पनि कमी छैन । यस टोलीले गर्ने प्रदर्शन पछि नै यसको लेखा जोखा होला । यस भन्दा अघि पनि केही यस्ता बलिया टोली थिए, जसको प्रदर्शन कै आधारमा तिनीहरूको चर्चा सधैँ हुने गरेको छ । 

सन् १९४१ देखि ४७ को बिचमा अर्जेन्टिनामा भएका कुनै पनि फुटबलमा रिभर प्लेटले पराजयको सामना गरेन । हुवाँ कार्लोस मुनोज, जोसे मानुएल मोरेनो, अडल्फ पेरेनेरा र फेलीक्स लास्टाउ सहितको त्यो टोलीको आक्रमणलाई रोक्न जो कोहीलाई हम्मे पर्ने गरेको थियो । १९५५ देखि १९६० को समयको रियल म्याड्रिड यस्तै अजेय शक्ति थियो । यस समयमा रियलले लगातार पाँच पटक युरोपियन कप जितेको थियो । लगातार पाँच वर्ष भन्दा बढी समय खेलेको हरेक खेलमा विजय हात पारेको सो टोलीमा फ्लोरेन्स पुस्कास र अल्फ्रेडो डे स्टेफानो सहित फ्रान्सिस्को गेन्टो समावेश थिए । 

जसरी, विश्व फुटबलको कुनै एउटा अध्यायको खोजी गर्दा उरुग्वे एउटा महत्त्वपूर्ण शक्ति थियो, यसै गरी, उरुग्वेको पेनोरल संसारकै यस्तै बलियो फुटबल शक्ति मानिन्थ्यो । १९५८ देखि १९६२ को बिचमा यस क्लबले पाँच पटक राष्ट्रिय च्याम्पियनसिप, दुई पटक लीबरटाडारेस उपाधि र १९६१ मा इन्टर कन्टीनेन्टल कपको उपाधि जितेको थियो । १९६२ मा अर्को दक्षिण अमेरिकी क्लब सान्टोसले यसलाई विस्थापित गर्दै शक्तिको रूपमा  उदाएको हो । इक्वेडरका अल्बर्टो स्पेन्सर र पेलेको जम्का भेटका कारण पेनोरल र सान्टोसको त्यो भिडन्तलाई इतिहासकै महत्त्वपूर्ण खेलको रूपमा हेरिएको थियो । 

त्यो समयमा हेडमा सबैभन्दा माहिर मानिने स्पेन्सरले पेनोरलका लागि खेलेका ५०० खेलमा ३०० गोल गरेका थिए । हुवाँ जोए र जासे सासीयाको साथ स्पेन्सरले पाए पछि यो टोली यत्ति बलियो बनेको थियो की १९६२ मा इसुबीयोको प्रभावमा रहेको बेनफीकाको विरुद्धमा सात गोल गर्दै इन्टरकन्टीनेन्टल कप जित्न भएको थियो ।
सान्टोसको प्रभाव भने एक वर्ष रहेको थियो । यो एक वर्षको बिचमा एक से फुटबलका महारथीहरू सान्टोसका अघि हार खाए । बेनफीका र एसी मिलानलाई लगातार दुई पटक हराउँदै सान्टोसले इन्टरकन्टीनेन्टल फुटबलको उपाधि जितेको थियो । सान्टोसको यो सफलतामा विश्व फुटबलकै महान् व्यक्तित्व पेले त छदै थिए, गीलमार र डिफेन्सीभ मिडफील्डर जीटोको उत्कृष्ट खेल समावेश थियो । 

ब्राजिलकै अर्को क्लब बोटा फागोको चर्चा सन् १९६२ देखि १९६६ को बिचमा थियो । स्टार फरवार्ड गारिन्चाका  साथमा मिडफील्डर डिडा, निल्टन सान्टोस र मारियो जागालोको कारण यो टोली उत्कृष्ट रहेको थियो । हेलेनीनो हेरेराको प्रशिक्षणमा रहेको इन्टर मिलान १९६० को दशकमा यत्तिकै बलियो मानिन्थ्यो । बलियो रक्षापक्तीका कारण गोल हनु नदिने यो क्लबको नयाँ नीति  सफल भएको थियो । यस क्लबको सफलता पछि फुटबलमा रक्षकहरूको महत्त्व बढी हुन थाल्यो । साथमा कम गोल हुन सुरु भएको थियो । स्पेनका लुइस सुवाँरेज , सान्ड्रो माजोला र जीयान्टो फाचेटी सो टोलीका प्रमुख खेलाडी थिए । 

सन् १९७४ देखि १९७६ को बिचमा लगातार तीन पटक बुन्डेसलीगाको उपाधि जित्ने वायरन म्युनिखलाई पनि शताब्दीको एउटा उत्कृष्ट फुटबल टोली मानिन्छ । यस बिचमा सो क्लबले चार युरोपेली उपाधि पनि जितेको थियो । फ्रेन्च बेकनबउर, गर्ड म्युलर र कार्ल हेन्च रुमिनेगे सहितको यो टोलीले स्थापित गरेको बायरनको साख अझ कायम छ । त्यो समय देखि अहिलेसम्म पनि वायरन म्युनिख जर्मनीको सबैभन्दा लोकप्रिय क्लबको रूपमा यथाबत रहेको छ  । ७० को दशकको लिभरपुल अर्को यसै खाले क्लब रहेको छ । सन् १९७४ देखि १९८३ सम्म यो क्लबको बेजोड पकड रहेको थियो । यो टोलीले ६ पटक प्रीमीयर लिग तीन पटक युरोपियन कप तथा एक पटक युइएफए कपको उपाधि जितेको थियो । केनी डालगीस, केभिन किगन र ग्रेम साउनेसको नाम अझै धेरैलाई याद पनि हुन सक्छ । 

सन् १९८० देखि १९८३ सम्म ब्राजिलको फ्लेमिंगो यसै खाले क्लब थियो । तीन पटक राष्ट्रिय च्याम्पियन भएको यो क्लबले यस बिचमा कोपा लिबरटाडारेस कप र इन्टरकन्टीनेन्टल कप पनि जितेको थियो । विश्व फुटबलका स्टार मिडफील्डर जिकोको प्रेरणामा विजयी यात्रा अघि बढाइरहेको यो क्लबमा जुनियर र अडीलो जस्तो रुड्रो नेग्रो एकेडेमीका उत्कृष्ट उत्पादन समावेश थिए । 
सन् १९८८ देखि १९९४ को बिच एसी मिलान यसै खाले शक्ति मानिन्छ । सङ्कटका बिच बेपारी सिलभीयो बेर्लुस्कोनीले क्लब लिए पछि स्टार डच स्टार फ्रान्क राइकार्ड, मार्को भान भास्टन र रुड गुलीटलाई समावेश गरिएको थियो ।

फ्रान्को बोरेसी, पावलो माल्डीनी, कार्लो एन्सेलोटी, माउरो टासाटी  र  अलेजान्द्रो कोस्टुकोर्टा सहितको यो टोलीको प्रदर्शन त कुरै नगरौँ । सन् १९९४ देखि १९९६ बिचको आयाक्सलाई अर्को बलियो टोलीको रूपमा व्याख्या गर्नेको पनि कमी छैन । लगातार दुई पटक युरोपियन कपको फाइनल पुग्नु मात्र ट ठुलो सफलता नहोला । तर, एकेडेमीको स्वरूपमा तयार यो क्लबका उत्पादनले विश्व फुटबलमा तहल्का भने मच्चाए । फ्रान्क डिबोयर, रोनाल्ड डि बोयर, एडगर डेभिड्स, मार्क ओभरमार्स, प्याट्रिक क्लुभर्ट जस्ता एकसेएक स्टार आयाक्सले उत्पादन गरेको थियो । 
इतिहासको त्यो महान् टोलीको शृङ्खलामा ९० को दशकको अन्त्यमा युभेन्ट्स पनि थपियो ।

जुन टोलीमा जिने दाने जिदान, अलेजान्द्रो डेल पियरो र सीरो फरेरा थिए । रियल म्याड्रिडले १९९९ देखि २००३ को बिचमा दुई पटक ला लीगा र दुई पटक युरोपेली उपाधि जित्यो । यस बिचमा त्यहाँ पनि स्टारको जमघट थियो । जिदानको साथमा रोनाल्डो, रोबर्टो कार्लोस, डेभिड बेकह्याम र राउल गोन्जालोज जस्ता स्टार रियल म्याड्रिडमा एकै पटक थिए । 
एलेक्स फर्गुसनको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले सन् २००७ देखि २०११ को बिचमा यस्तै सफल यात्रा गरेको थियो । चार वर्षको बिचमा तीन प्रीमीयर लिग उपाधि तथा दोस्रो पटक च्याम्पियन्स

लिग उपाधि जित्ने यो टोलीमा रोनाल्डो, नेमान्जा भिडिक र पल स्कल्स मुख्य खेलाडी थिए । यस पछि बार्सीलोनाको नयाँ युगको सुरुवात भएको थियो । जहाँ एक से एक स्टार थिए । 
यी थिए सन् २०१० भन्दा अघिका कुरा । २०१० को दशकको फुटबल इतिहास सायद मेसीकै सेरोफेरोमा घुम्ने छ । २०२० को दशक कता जाने छ रु के पिएसजी पनि यस्तै अजेय शक्ति हुने छ या स्टार खेलाडीको जमघट मात्र हुने छ, त्यो हेर्न भने प्रतीक्षा नै गर्नु पर्ने हुन्छ  ।