९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’
अ अ+ अ-

टीकापुर । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।

बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिनुभयो ।

उहाँले कृषितर्फ बाढीले पुर्याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “वडा नं ५, ६, ७, ८ र ९ मा धानबालीमा बढी क्षति भएको छ । कतिपय किसानको बाली खेतमै गलेको छ ।”

पालिकाभरिको कुरा गर्दा २० प्रतिशत बढी बालीमा क्षति भएको छ । डुबान भएका क्षेत्रमा पानी जमेर धानबाली गलेर नोक्सान भएको उहाँको भनाइ छ । टीकापुर–५ का किसान सुधा चौधरीको १० कठ्ठा जमिनमा लगाएको धानबाली सबै नोक्सान भएको छ । “धान पाकेर काट्न तयार भएको थियो, एक सातासम्म खेत पानीले जलमग्न भयो, पानी सुक्नेबेला खेत हेर्न जाँदा धानको एक बोट पनि टाढो थिएन, सबै धान मल भइसकेको थियो”, उहाँले भन्नुभयो, “ पानीसँगै हावा चलेकाले धानबाली ढल्यो, त्यसपछि एक सातासम्म खेत जलमग्न भएपछि बाली रहने कुरै भएन ।”

टीकापुर–८ का राहुल साउदको पनि धानबालीमा क्षति भएको छ । कर्णाली नदीको भङ्गालो बस्तीमा पसेपछि उहाँको धानबाली लगाएको खेत बालुवाले भरिएको छ । “गत वर्ष काटेको धान बाढीले बगायो, यस वर्ष सबै खेतमै सकियो”, उहाँ भन्नुहुन्छ, “अब के खाने होला रु हामीले दुई वर्षसम्म खेतको बाली देख्न पाउने भएनौँ । किन खेती लगाइएछ जस्तै लागेको छ ।”

बाढीले भजनी नगरपालिकामा कृषितर्र्फ ठूलो क्षति भएको छ । भजनीमा कृषिजन्य उत्पादनमा ९० प्रतिशत क्षति भएको छ भने ७० प्रतिशत धानबालीमा क्षति भएको पालिकाले जनाएको छ । “समग्रमा ९० प्रतिशतमाथि क्षति भएको छ । धानबालीका कुरा गर्दा कोही–कोही किसानको उच्च जमिनमा रहेको बाली बचेको देखिन्छ”, कृषि शाखा प्रमुख हरिलाल रेग्मी भन्नुहुन्छ, “बाढीले लगातार दुई वर्ष किसानले उत्पादन लिन पाएनन्, भजनीमा जस्तो बिचल्ली कतै भएको छैन । हामी तथ्याङक ‘इन्ट्री’ गर्ने काम गरिरहेका छौँ । त्यसपछि क्षति यकिन विवरण भन्न सकिन्छ ।”

कृषि शाखा प्रमुख रेग्मी भजनीमा माछापालक ४० किसानका सबै क्षति भएको बताउनुहुन्छ । “पशुपालनमा क्षति भएको छ । कुखुरा, बङ्गुरपालनमा समेत त्यस्तै क्षति छ” उहाँले भन्नुभयो, “धानबाली कसै–कसैको मात्र बचेको छ । बचेको बालीमा समेत बाला छैन, अघिल्लो पटकको बाढीले फूल झारेकाले बाला छैन ।”

भजनी–८ का धनलाल चौधरीको धानबाली सबै नोक्सान भएको छ । घरमा बाढी पसेपछि हुलाकी सडक भागेका धनलाल असोज २६ गते घर फर्कँदा उहाँको न त घर बचेको थियो, न त खेतको धानबाली । “घरका सबै भित्ता भत्केका, अन्न राखेका माटाका डेहरी (भकारी) भत्किएर अन्न बगिसकेका, केही सडेका थिए”, उहाँले गुनासो गर्नुभयो, “खेततिर हेर्दा बाली सबै ढलेर नोक्सान । धानबाली ढलेर धानबालीमाथि हिलो थुपारिएको छ । एक दाना पनि धान देख्न पाइएन ।” यस्तो समस्या यहाँका अधिकांश किसानको छ ।

कतिपयले बचेका धानका बाला काट्न थालेका छन् तर जताततै जलमग्न भएकाले सुकाउने ठाउँ छैन । “अधिकांशको बाली खेतमै सकियो, कतिपय बचेका किसान बाला टिप्न थालेका छन्”, स्थानीय जयप्रसाद ढुङ्गानाले भन्नुभयो, “बाला टिपेकाहरू सडकमा, विद्यालयमा, उच्च स्थानमा लगेर सुकाउन थालेका छन् । यस क्षेत्रका किसानसँग अब धानको बीउ पनि रहने देखिएन । अर्को वर्ष किसानलाई बीउ पनि खोजाखोज गर्नुपर्ने अवस्था आउँछ ।”

जानकी र जोशीपुर गाउँपालिकामा पनि बाढीले धानबालीमा क्षति भएको छ । जानकीमा वडास्तरमा तथ्याङ्क लिने काम भइरहेको पालिकाले जनाएको छ । जोशीपुरमा पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको पालिकाले जानकारी दिएको छ । किसान स्थानीय सरकारले राहतमा खाद्यान्नसँगै हिउँदे खेतीका लागि बीउ, मल, खेती गर्न आवश्यक खर्चमा सघाइदिनुपर्ने माग गर्छन् । उनीहरूले हिउँदे खेती गर्न पाएमा किसान बाँच्ने बताउँछन् । “धान बेचेर हिउँदे खेतीको जोहो गर्ने हामी अब कसरी हिउँदे बाली लगाउनु”, स्थानीय रमेश विकले भन्नुभयो, “हिउँदे बालीका लागि राखिएको बीउ पनि रहेन, किसानलाई जस्तो पीडा कसैलाई छैन ।”