९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद्को प्रश्न– ‘सबै नागरिकलाई खोप कहिले ?’



अ+ अ-

काठमाडौँ । सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक महत्वमाथि दिनुभएको वक्तव्यमाथि प्रश्न गर्दै सांसदहरुले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गरी सहजरूपमा सेवा लिने वातावरण बनाउन आग्रह गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै कोरोनाविरुद्ध लड्न नेपाली कांग्रेसले प्रतिपक्षमा रहँदा उठाएको सर्वदलीय संयन्त्र बनाउने कुराको प्रगतिका बारेमा प्रश्न उठाउनुभयो । सांसद शेरबहादुर तामाङले एक महिना पहिले र अहिले तथ्याङ्क केही फरक नभएको बताउनुभयो । सरकारले मेलम्ची क्षेत्रमा बाढी, पहिरो प्रभावित क्षेत्रमा नागरिकले शतप्रतिशत खोप दिने भने पनि नागरिकले नपाएको उल्लेख गर्नुभयो ।

सांसद विमला विकले श्रमिक वर्गलाई खोप दिइनुपर्ने बताउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भन्नुभयो– निजी क्षेत्रसँग सहकार्यमा कुन–कुन विषय समावेश हुन्छ भनी जिज्ञासा राख्नुभयो । सांसद् डिला सङ्ग्रौलाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक करोड मात्रा खोप ल्याएको भन्नुभएको भन्दै त्यसको भण्डारणको अवस्था के छ भन्दै प्रश्न गर्नुभयो । सांसद सरीता न्यौपानेले कोभिड परीक्षणको गलत रिपोर्ट दिनेलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

सांसद गगनकुमार थापाले कोभिडका कारण परीक्षा रोकिएको तर परीक्षार्थीले कहिले खोप पाउने भन्ने निश्चित नभएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले साँझ ८ बजेपछि आवागमन रोकेको भन्दै उहाँले त्यससम्बन्धी अध्ययनको आधारका बारेमा प्रश्न गर्नुभएको छ ।

सांसद रामकुमारी झाँक्रीले ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप पाउनुपर्ने र विदेश जानका लागि खोप लगाउन नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । सांसद बिन्दा पाण्डेले कोभिड सङ्क्रमणका कारण मानसिक समस्या र हिंसा बढेको उल्लेख गर्नुभयो ।

सांसद कृष्णकुमार राईले आफ्नो क्षेत्रमा मःम पसलमा खोप पाइएको बताउनुभयो । सांसद निरुदेवी पालले तेस्रो लहरमा बालबालिकालाई जोखिम बढी भएको तर त्यस क्षेत्रमा विशेषज्ञ कम रहेकाले त्यसको तयारीका बारेमा जिज्ञासा राख्नुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले दीर्घरोगीलाई दिइने मासिक भत्ताका बारेमा प्रश्न राख्नुभयो । सांसद राजेन्द्रकुमार केसीले पूर्वप्रधानमन्त्रीले आइसकेको भन्नुभएको खोपको सङ्ख्या र अहिले सरकारले प्रस्तुत तथ्याङ्कमा फरक पाइएको उल्लेख गर्नुभयो ।

सांसद महेश्वरजङ्ग गहतराजले हिमाली र पहाडी क्षेत्रमा भण्डारणको समस्या देखिएकाले त्यसमा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद धर्मशिला चापागाईँले मन्त्रालयले विज्ञ राखेर प्राविधक टोली बनाएर सङ्क्रमणविरुद्ध लड्न तयारी गर्नुपर्ने उल्लेख गर्नुभयो । सांसद प्रकाश रसाइलीले कर्णाली र सुदूरपश्चिमका अस्पताल जीर्ण भएकाले पूर्वाधारको तयारी आवश्यक रहेको औँल्याउनुभयो । सांसद् रामबहादुर विष्टले सरकारले चाँडै सबै नागरिकले खोप लगाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद पुष्पा भुसालले अहिले तेस्रो लहरको चुनौतीसँगै गर्मीयाममा अरु रोग बढिरहेकाले त्यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो । सांसद गङ्गा चौधरी, उमा रेग्मी र प्रेम सुवालले खोप लगाउने स्थानमा रहेको भीडभाडको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । रासस