२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानी राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे (भिडियो सहित)



अ+ अ-

काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाड्नुभएको बताइएको छ । विद्रोही तालिवान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उहाँले देश छाड्नुभएको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उहाँले देश छोड्नु भएको हो । स्थानीय टोलो समाचारलाई उद्धृत गर्दै राष्ट्रपति घानीले आइतबार साँझ देश छोड्नुभएको नाम नबताउने शर्तमा दुई ओटा स्थानीय समाचार श्रोतलाई उद्धृत गरेको छ ।

श्रोतका अनुसार तालिवान लडाकूहरुको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नुहुनेछ । उहाँका साथमा उहाँका नजिकका केही मानिसहरुले पनि अफगानिस्तान छोडेका छन् । उनीहरुका बारेमा विस्तृतमा केही बताइएको छैन ।

घानी सरकारका मन्त्रीहरुले भने आम नागरिकलाई धैर्यधारण गर्न र नडराउन आग्रह गरेका छन् । उनीहरुले नागरिकको सुरक्षा हुने आश्वासन दिएका छन् । तालिवान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटर मार्फत राजधानी काबुलस्थीत जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् ।

यस बारेमा घानी सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया भएको छैन । आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरु राजधानी काबुल प्रवेश गरेका थिए ।