२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

कोरोना जोखिम : शहरमा सावधानी, गाउँमा बेवास्ता

कोरोना जोखिम : शहरमा सावधानी, गाउँमा बेवास्ता
अ अ+ अ-

महेन्द्रनगर ।  मुलुकमा कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जोखिम रहेका बेला कञ्चनपुरका शहरी क्षेत्रमा स्वास्थ्य सुरक्षा सर्तकता अपनाएको देखिए पनि ग्रामीण बस्तीमा भने त्यसको कुनै वास्ता छैन ।

यहाँको महेन्द्रनगर बजार, झलारी, दैजीलगायत राजमार्ग छेउछाउका बजारमा मास्कलगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरिएको देखिए पनि अन्यत्र भने सर्वसाधारण सामान्य अवस्था झैं हिँड्डुल गरिरहेको पाइएको छ । पश्चिमी नाका गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकासँग जोडिएको कञ्चनपुर जिल्ला कोरोना जोखिम विश्लेषणमा ‘थ्रेट जोन’ मा पर्छ ।

स्थानीय प्रशासन र केही दातृ निकायले महेन्द्रनगर बजार र केही स्थानमा कोरोना जोखिम नियन्त्रणबारे मास्क र मास्क नलगाउनेलाई जरिवानालगायत अभियान सञ्चालन गरेपनि ग्रामीण बस्तीमा भने त्यसको कुनै प्रभाव परेको छैन । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा कोरोना सङ्क्रमणबाट १८८ जनाको मृत्यु भइसकेको छ । अझै दिनहुँ जसो कोरोना सङ्क्रमण थपिने र सङ्क्रमण जित्ने प्रक्रिया जारी रहेको कार्यालयले जनाएको छ ।

हालसम्म कञ्चनपुरमा १० प्रतिशत नागरिकले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–९ का जीतेन्द्र चौधरीले कोरोना जोखिम अझै कायम रहेपनि बस्तीमा भने सचेतना फैलाउने र सावधानी अपनाउने विषयमा कुनै चासो नरहेको बताउनुभयो । “गाउँमा त एकआध जनाले मात्रै मास्क लगाएको देखिएपनि अरु निर्वाध रुपमा घुमफिर गरिरहेका हुन्छन्”, उहाँले भन्नुभयो, “कोरोनाले त शहर र गाउँ भन्दैन् होला नी !” उहाँले कोरोना नियन्त्रणका लागि सचेतना फैलाउने अभियानमा स्थानीय पालिकाले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँ सरकारी कार्यालय र बजार क्षेत्रमा हिँड्डुलका बेला मात्रै मास्क लगाउने प्रचलन रहेको देखिन्छ । “सङ्क्रमण बढेपछि अक्सिजन, राम्रो अस्पताल खोजेर मात्रै हुँदैन”, चौधरीले भन्नुभयो, “यसलाई नियन्त्रण गर्न गाउँगाउँमा मास्क वितरण अभियान सञ्चालन गर्नु आवश्यक छ ।” स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि भन्दै हरेक दिन बेलुकी ६ बजेपछि महेन्द्रनगर बजार बन्द गराउने गरेको छ ।

प्रहरीले यहाँका गल्लीहरुमा मास्क नलगाउने व्यक्तिलाई जरिवाना गराइरहेको छ । महेन्द्रनगरस्थित हेल्प नेपालका अध्यक्ष मदन चन्दले मास्क अभियान सकरात्मक भए पनि उहाँले खोप अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । “बेलुकी ६ बजेपछि पनि यहाँ होटल, रक्सी पसल भरिभराउ हुन्छन्”, उहाँले भन्नुभयो, “यहाँका पर्यटकीय क्षेत्रमा भीडभाड हुँदा पनि स्थानीय प्रशासन मौन भएर बसेका छन् ।” उहाँले सचेतनाका कार्यक्रम ग्रामीण बस्तीसम्म सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले कोभिशिल्डको दोस्रो मात्रा लगाउने काम भएको बताउनुभयो । “भदौको दोस्रो साताबाट भेरोसेल लगाउने तयारी छ”, उहाँले भन्नुभयो, “खोप अभियान स्थानीय तहसँग समन्वय गरेर अघि बढेको छ ।” नेपाली सेनाले महेन्द्रनगरमा एक हजार श्ययाको होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । कोरोनाको तेस्रो लहरलगायत मुलुकमा आउनसक्ने महामारी र विपद्का बेला नागरिकको व्यवस्थापनका लागि रु २९ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण गरिरहेको सेनाले जनाएको छ । महाकाली प्रादेशिक अस्पतालमा बालबालिकालाई लक्षित गरी कोभिड बाल श्ययासहित वार्ड निर्माण भइरहेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमर माझीले मास्क अभियान सञ्चालनमा रहेको बताउनुभयो । “मास्क नलगाउनेलाई हरेक दिन जसो जरिवाना गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय प्रशासन र नागरिकसँगको समन्वयमा प्रहरी सक्रिय छ ।” कोरोना कहरमा प्रहरीले शान्ति सुरक्षाको कामदेखि गड्डाचौकी नाकामा भारतबाट आउनेको यात्रा सहज बनाउनदेखि यहाँ सञ्चालित खोप अभियान व्यवस्थापनलगायत काममा प्रहरी दिनरात नभनी खटिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले कोरोना नियन्त्रण, नियमन, अनुगमन, र स्वास्थ्य सेवामा योजनाबद्ध ढङ्गले अघि बढेको बताउनुभयो । “जनताको स्वास्थ्यप्रति सचेत रहँदै वडा स्तरसम्मका हाम्रा संरचना सक्रिय छन्”, उहाँले भन्नुभयो, “सरोकारवाला निकायसँग समन्वय गरेर मास्क वितरण, सेनिटाइजर वितरणका साथै यहाँका मुख्य बजारमा सचेतना फैलाउने काम भइरहेको छ ।”

त्यसैगरी लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले कोरोनाको तेस्रो लहर आउने आँकलन भइरहेका बेला पालिकाले सचेतना फैलाउने पहल गरिरहेको बताउनुभयो । “यहाँ स्वास्थ्य संरचना नहुँदा सङ्क्रमित बढे होम आइसोलेशन र सामुदायिक विद्यालयमा राख्ने भनेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, सडक खानेपानीलगायत हरेक दृष्टिकोणले जिल्लाकै विकट भएकाले यहाँ समस्या धेरै छन् ।”