२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख शाक्यको आग्रह



अ+ अ-

काठमाडौँ । जनप्रतिनिधिले नगर सभाबाट पारित गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीहरुले भूमिका बढाउनु पर्नेमा जोड दिँदै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, नीति र  कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीको सक्रियता अपेक्षा गर्नुभएको छ । बार्षिक कार्ययोजना तर्जुमा गर्ने क्रममा विभागीय प्रमुखहरुसँग छलफल गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘विभाग सक्रिय भएन भने कुनै पनि काम बन्दैन । जनप्रतिनिधिले तयार गरिदिएका कार्यक्रमको गन्तव्यलाई लक्ष्य मानेर तपाईँहरु कार्यक्रम कार्यान्वयनमा लाग्नोस् ।’

‘सम्पन्न भएका कार्यक्रमको लाभ समीक्षा गरौँ । कार्यान्वयन आउन नसकेका कार्यक्रम किन भएनन्? कारण खोजौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘महानगरले आन्तरिक रुपमै सम्पादन गर्न सक्ने कामलाई खुरुखुरु सञ्चालन गरौँ । नीतिमा केही अस्पष्ट भए हामीलाई सोध्नू । क्षेत्रगत समन्वयमा गर्नुपर्ने कामको हामी संयोजन गर्छौँ । त्यहीअनुरुप योजना कार्यान्वयन गरौँ ।’

त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्धले महसुस योग्य परिणाम आउने बताउनुभयो । सबैले पदीय जिम्मेवारी पूरा गर्ने हो भने कसैले कसैप्रति प्रश्न गर्नुपर्ने दिन आउँदैन । यो बोध भए पुग्छ । उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो । 

प्रशासनिक नेतृत्वले राजनीतिक नेतृत्वको नीति कार्यान्वयनमा सघाउने हो । प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘कार्ययोजनाले आफ्नो मूल्याङ्कनमा गर्न सघाउ पु¥याउँछ । कार्यालयले आफ्नो विभागबाट अपेक्षा गरेका उपलब्धी कति प्राप्त भए? समीक्षा गर्न मद्दत गर्छ । त्यसैले विभागले गर्ने कामलाई कार्ययोजनाका आधारमा कार्यान्वयनमा लिएर जाऔँ । आ. व. ०७८÷०७९ का लागि स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि तयार भएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरौँ ।’

महानगरको नवौँ अधिवेशनबाट स्वीकृत बार्षिक कार्यक्रमलाई विभागहरुले कुन काम कहिले सुरु गर्ने र कहिले सम्पन्न गर्ने चौमासिक अवधि राखेर कार्ययोजना बनाएका छन् । कार्यक्रम कार्यान्वयनको मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहित कार्ययोजना बनेको छ । 

बार्षिक कार्ययोजना तर्जुमा सहजीकरणका लागि निर्देशक बसन्त आचार्यको संयोजकत्वमा टोली गठन गरिएको थियो । टोलीको सदस्यहरुमा उपनिर्देशकहरु प्रहलाद घिमिरे र प्रवीण प्याकुरेल र शाखा अधिकृत संन्जिव श्रेष्ठ हुनुहुन्छ । टोलीले साउन १८ गते छलफल आयोजना गरेर काम थालेको थियो । त्यसपछि विभागहरुलाई पठाइएको ढाँचामा कार्ययोजना तयार भएको छ । यसरी तर्जुमा गरिएको सम्झौतामा भोलि प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित विभागीय प्रमुखहरुविच हस्ताक्षर हुनेछ । 

महानगरपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को कार्ययोजनामा भएका मुख्य मुख्य ब्यवस्थाहरु
नियमित कामहरु सबै चौमासिकमा हुनेछन् । मापदण्ड, कार्यविधि तयारी तथा अवधारणा तयार गर्ने कामलाई पहिलो चौमासिकमा राखिएको छ । स्वास्थ्य बीमा गर्ने, बक्यौता भुक्तानी गर्ने, योजनाको स्पेसिफिकेसन¸लगत तयार र सूचना प्रकाशन गर्नु पर्ने काम पहिलो चौमासिकमा हुनेछ । बोलपत्र मूल्याङ्कन तथा सम्झौताहरुमध्ये आन्तरिक रुपमा गरिने पहिलो चौमासिकमा र परामर्श सेवाबाट गरिनेलाई दोस्रो चौमासिकमा राखिएको छ । 

पूर्वाधार निर्माण तर्फका योजनाहरु तेस्रो चौमासिकमा सम्पन्न गरिनेछन् । विभिन्न संस्थाहरुलाई प्रदान गरिने कार्यक्रम सहयोग दोस्रो चौमासिकमा सम्पन्न हुनेछ । संघसस्था छनौट गर्ने काम दोस्रो चौमासिकमा हुनेछ । विद्यालयमा माग संकलन गर्ने, आन्तरिक आय नभएका विद्यालय छनौट गर्ने, नमूना विद्यालय छनौट गर्ने पहिलो चौमासिकमा र रकम निकासा गर्ने दोस्रो चौमासिकमा हुनेछ । शिक्षा विभागका नियमित काम सबै चौमासिकमा हुनेछन् । 

सामाजिक विकास विभागअन्तर्गत सूचना प्रकाशन गर्ने, संस्था छनौट गर्ने, अवधारणा तयार गर्ने, छलफल गर्ने काम पहिलो चौमासिकमा हुनेछ । खेलकुदका कार्यक्रम वडामा पठाउने निकासा, पौरखी मेला, स्वयमसेवक परिचालन दोस्रो चौमासिकमा हुनेछ । 

जनप्रतिनिधिहरुको क्षमता विकास र तालिमका कार्यक्रम पहिलो र दोस्रो चौमासिकमा तथा कर्मचारीहरुको क्षमता विकास र तालिम दोस्रो र तेस्रो चौमासिकमा हुनेछ । ककनी र धुनीबेँसी पालिकालाई दिइने विकास अनुदानका लागि पहिलो चौमासिकमा सम्झौता हुनेछ भने दोस्रो चौमासिकमा निकासा पठाइनेछ । 

पहिलो चौमासिकमा गुणस्तरका आधारमा होटल तथा रेष्टुरेन्टको बर्गीकरण गरिनेछ । स्वास्थ्यतर्फ औषधी खरिद पहिलो चौमासिकमा हुनेछ भने स्वास्थ्य सेवाका नियमित काम सबै चौमासिकमा हुनेछन् । 
यससँगै नियमित हुने विभागका कामलाइ सबै चौमासिकमा राखिएको छ ।  

कार्ययोजना तर्जुका प्रक्रिया र यसका मुख्य बुँदाका विषयमा निर्देशक बसन्त आचार्य, उपनिर्देशकहरु प्रहलाद प्याकुरेल र प्रवीण प्याकुरेलले प्रस्तुति गर्नुभएको थियो । त्यस्तै निर्देशकहरु दीपक अधिकारी, राम थापा, हरिबहादुर कुँवर, हरिकुमार श्रेष्ठ, उपनिर्देशक रामप्रसाद पौडेलसहित अधिकारीहरुले बार्षिक कार्ययोजना कार्यान्वयनका कर्मचारीहरु उत्साहित भएको धारणा राख्नुभएको थियो ।