२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की



अ+ अ-

काठमाडौँ । मंगलबारदेखि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश बन्नुभएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्नुभएको हो ।

यही असोज १५ गते कामु प्रधानन्यायाधीश दीपककुमार कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ । त्यसपछिको सर्वोच्चको बागडोर कामु प्रधानन्यायाधीशको हैसियतमा हरिकृष्ण कार्कीले सम्हाल्नुहुनेछ ।

तर अवकास पाउनुअघि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत तीर्थाटनका लागि जानुभएकाले मंगलबारदेखि हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको नेतृत्व लिने हुनुभएको हो ।

गत फागुन १ गते महाअभियोग लागेपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा पर्नुभएको छ । उहाँमाथिको महाअभियोगको टुंगो नलागेका कारण सर्वोच्चको काम कारबाही कामु प्रधानन्यायाधीशबाट हुँदै आएको छ ।

महाअभियोगको टुंगो नलागे पनि निलम्बित प्रधानन्यायाधीश जबरा आगामी मंसिर २७ गते ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा जानुहुनेछ । यद्यपि हरिकृष्ण कार्कीले त्यसपछि पनि लगत्तै पूर्ण प्रधानन्यायाधीशका रुपमा काम गर्न पाउनुहुने छैन ।

प्रधानन्यायाधीश बन्नका लागि न्याय परिषद्ले वरिष्ठ तीन जना न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिमा पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । सुनुवाइ समितिले कुनै एक न्यायाधीशको नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिबाट सपथ खुवाएपछि मात्र पूर्ण प्रधानन्यायाधीशका रुपमा मानिनेछ ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचन भई सबै स्थानको नतिजा आउन केही समय लाग्न सक्नेछ । प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय समिति गठन प्रक्रिया पूरा गर्न करिब तीन/चार महिना लाग्नसक्ने अघिल्लो पटकको प्रतिनिधिसभाको निर्वाचनबाट प्रष्ट भएको छ ।

यस हिसाबले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको अवस्थामा पनि कम्तीमा चैतपछि मात्र पूर्ण प्रधानन्यायाधीश बन्नुहुने देखिएको छ ।

यद्यपि निलम्बित प्रधानन्यायाधीश जबरा अनिवार्य अवकासमा गएपछि पनि संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेसम्म उहाँ नै कामु प्रधानन्यायाधीशको जिम्मेबारीमा रहनुहुनेछ ।