• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

शेखरको आरोप: राणालाई नजरबन्द गर्नु मानव अधिकार उल्लंघन, महाअभियोग निष्क्रिय भइसक्यो



विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय भएको बताउनुभएको छ ।

गृहजिल्ला मोरङको विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले महाअभियोग निष्क्रिय भएकाले जबरालाई नजरबन्दमा राखेर सरकारले मानअवधिकारको उल्लंघन गरेको आरोप लगाउनुभयो । उहाँले महाअभियोग निष्क्रिय भइसकेकाले राणालाई सर्वोच्च अदालतमा हाजिर गर्न दिनुपर्ने जिकिर गर्नुभयो ।

महाअभियोग लगाउने संसद्को अवधि समाप्त भएको उल्लेख गर्दै उहाँले महाअभियोग लगाउने सांसद्हरुनै नरहेपछि उनीहरु नै पुनः प्रतिनिधिसभामा जितेर आउँछन् नै भन्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसैले महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ ।” औचित्यहीन भइसकेको महाअभियोग अर्को संसद्मा जान्छ भन्नु गलत हुने उहाँको भनाइ थियो ।