६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकमार्गले बदलियो बागलुङका दुर्गम गाउँको परिचय



बागलुङको निसीखोला गाउँपालिका तस्बिर : रासस
अ+ अ-

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले यहाँको मालढुङ्गादेखि पातिहाल्नेसम्म जोडेको छ । करिब एक सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौँ गाउँलाई जोडेको छ । एकदशक अगाडिसम्म निकै दुर्गम मानिने निसीखोलाले अहिले स्वरुप बदलेको छ ।

पूर्वी रुकुमसँग जोडिएको निसीखोलामा आदिवासी जनजाति र दलित समुदायको बाक्लो बसोबास छ । शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोला लोकमार्गले जोडिएपछि थुप्रै सम्भावनाका ढोका खुलेका छन् । लोकमार्गका छेउछाउमा अहिले थुप्रै घर तथा भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप बजारमा परिणत हुँदैछ ।

“आजभन्दा एकदशक अगाडिसम्म निसीखोला निकै दुर्गम मानिन्थ्यो, यहाँ शिक्षा, स्वास्थ्यको राम्रो सुविधा थिएन, बिजुली बत्ती पनि थिएन, जब लोकमार्गले निसीखोला जोडियो, त्यसपछि यहाँ विकासले कायाँपलट छायो”, स्थानीय मनसुर घर्तीमगरले भन्नुभयो, “अहिले जिल्लामै सुगम पालिकाका रुपमा निसीखोला बनेको छ, यहाँ अहिले कुनै समस्या छैन, सडक आएपछि विकास निकै छिटो भयो ।”

सडकले गाउँ नजोडिँदा दैनिक उपभोग्य सामान बुटवल, पाल्पा लगायतका स्थानबाट बोकेर उपभोग गरेको स्मरण गर्दै घर्तीमगरले अहिले घरघरमा पसल खुलेपछि निकै सहज भएको बताउनुभयो । निसीखोला गाउँपालिका–६ का दिपक बुढामगरले नागरिकता र सरकारी कागजात बनाउन १३ दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाउनुभयो । उहाँले सामान्य सरकारी कामले सदरमुकाम आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको भन्दै अहिले बिहान उठेर हिँडियो भने चार घण्टामै बागलुङ बजार पुग्न सकिने बताउनुभयो ।

लोकमार्ग कालोपत्र भइसकेपछि धेरैको रोजाइमा निसीखोला परेको छ । अहिले बसाइँसराइ गरेर बजार जानेक्रम निकै कम भएको स्थानीय बलिभद्र विकले बताउनुभयो । उहाँले सडक सञ्जालले गाउँ नजोडिँदा हुने खानेबाहेक धेरै जसो बसाइँसराइ गरेर तराई झर्ने गरेको बताउनुभयो ।

लोकमार्गले जोडिएपछि आसपासका जग्गाको मूल्यसमेत निकै महँगो हुँदै गएको विकले बताउनुभयो । उहाँले १० वर्ष अगाडि रु डेढ लाखमा पाइने जग्गा अहिले रु २० लाखमा पनि पाउन मुस्किल हुने गरेको सुनाउनुभयो । “अहिले त जग्गाको भाउ पनि निकै अकासिएको छ, सडकको छेउछाउमा त अहिले जग्गा किन्नै सकिन्न, त्यस बेला हजारमा पाइने जग्गा अहिले लाखौँ पर्छ, लोकमार्ग आसपासमा जग्गा हुनेवाला अहिले निकै धनी भएका छन् ।”

निसीखोलाको अधिकांश क्षेत्रमा विशेष गरी जडीबुटी, भाँगो र भेडाबाख्रा बढीमात्रामा उत्पादन हुने गर्छ । सडकले जोडिएपछि यहाँ उत्पादन हुने उत्पादित वस्तु बजारसम्म पु¥याउन थप सहजता भएको विकको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सडकका कारण दुर्गम गाउँले मुहार फेरेको बताउनुभयो । उहाँले विगतमा यहाँका हजारौँ नागरिकले दुर्गमको पीडा भोगेको भन्दै अहिले सेवासुविधाका लागि बाहिर जानै नपर्ने बताउनुभयो । “विगतमा यहाँका जनतालाई निकै दुःख थियो, सामान्य प्रशासनिक काम गर्न बागलुङ जानुपथ्र्यो, बागलुङ पुग्नै दुई हप्ता जति लाग्थ्यो, नुन तेल ल्याउन बुटवल पाल्पा जानुपथ्र्यो, लोकमार्ग आएपछि निकै सुविधा भएको छ, यहाँका नागरिकले विकासको अनुभूति गर्न पाएका छन्”, उहाँले भन्नुभयो ।