२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ सचिव कृष्णहरी पुस्करलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । निर्वाचन मिति तोकिएपछि पनि संसद्बाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै निर्वाचन आयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायमा के कति रकम कुन कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिएको छ ।”

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्माले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनको मिति तोकिसकेपछि निर्वाचन कार्यक्रम कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रमसमेत तयार गरी अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत निश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको े उल्लेख छ ।

“स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगको ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।