काठमाडौं । नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिबाट आज अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि नेपाल समुहका नेताहरू आजै आयोग जाने तयारी गरेका हुन् ।
नेपाल समुहका नेता मेटमणि चौधरीका अनुसार निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन गरिसकिएको छ ।
दल दर्ताका लागि आवश्यक पर्ने कागजात तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल लगायतलाई दिइएको बुझिएको छ ।
नेपाल समूहले यसअघि नै सबै जिल्लामा जिल्ला कमिटी, जनवर्गीय संगठनमा समानान्तर कमिटी बनाएको छ ।
यसअघि जिल्ला कमिटीमा नेपाल पक्षका ४० अध्यक्ष थिए । तर पछि केही नेता घटेर करिब ३५ मात्रै रहेको नेताहरूको भनाइ छ ।
विवाद व्यवस्थापनका लागि भएका प्रयास असफल भएको भन्दै नेपाल समूहले अलग्गै पार्टी घोषणाको गृहकार्यमा जुटेको हो ।
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने प्रस्ताव आएको चौधरीले बताउनुभयो । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा हुनसक्ने बताइएको छ ।