२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकले बन्द गरिदियो तालिबानको ह्वाट्सआप अकाउन्ट



अ+ अ-

काबुलः अफगानिस्तानको विद्रोही समूह तालिबानले चलाइरहेको ह्वाट्सआप अकाउन्टलाई फेसबुकले बन्द गरिदिएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक स्वदेश फर्केलगत्तै तालिबान समूहले काबुल सहित अफगानिस्तानको सत्ता कब्जा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार खतरनाक आतंकवादीको सूचीमा रहेका संगठनलाई ह्वाट्सआप जस्ता सामाजिक संजाललाई प्रयोग गर्न नदिने फेसबुकको नीति रहेको छ ।
खासगरी अमेरिकी कानुनमा खतरनाक आतंकवादी संगठनको सूचीमा रहेका संगठनलाई ह्वाट्सआप जस्ता मेसेन्जरहरु प्रयोग गर्नबाट बन्चित गरिएको छ ।

हाल तालिबान समूहले संगठनका गतिविधि संचालन गर्न तथा अफगानिस्तानभित्रका समस्याका बारेमा गुनासाहरु सुन्न ह्वाट्सआप प्रयोग गरिरहेको छ ।

विश्वभर नै निकै प्रभावकारी मानिएको मेसेन्जर एप्स ह्वाट्सआपलाई फेसबुकले संचालन गरिरहेको छ ।

फाइनान्सियल टाइम्सका अनुसार, काबुल र अन्यत्र भएका हिंसा एवं लुटपाटका बारेमा गुनासाहरु सुन्न तालिबानले हालैमात्र ह्वाट्सआप हटलाइन खोलेको छ । अब फेसबुकले उक्त हटलाइन चलाउन बन्द गर्नेछ । फेसबुकको भनाईमा यो कार्य अमेरिकी कानुनको बर्खिलाप छ ।

ह्वाट्सआपका प्रवक्ताले पनि आफूहरु अमेरिकी कानुन विरुद्ध जान नसक्ने बताएका छन् । उनले ह्वाट्सआपको प्रयोग बारेमा अमेरिकी सरकारबाट थप जानकारी माग गरिरहेको पनि जनाएका छन् ।

उनले भनेका छन्, “यसको अर्थ हामी तालिबानले व्यवस्थापन गरेका वा उनीहरुको पक्षबाट खोलिने खाताहरु (अकाउन्ट) हटाउँछौं र उनीहरुको प्रशंसा, समर्थन र प्रतिनिधित्वसँग सम्बन्धित सामग्री पनि हटाउँछौं ।”

फेसबुकले अफगानिस्तानको स्थानीय दारी र पश्तो भाषीका लागि उपयुक्त निर्देशिका बनाउन विज्ञहरुको समूहले काम गरिरहेको पनि जनाएको छ ।