काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताउनुभएको छ ।
मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गर्नुभयो । घिसिङले विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो ।
उहाँले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पु¥याउने बताउनु भयो । घिसिङले विद्युत निर्यात गरेर भन्दा विद्युत खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गर्नुभयो । उहाँले विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताउनु भयो । घिसिङले विश्वमा विद्युत संकट भएर युरोपमा १ युनिट विद्युतको करिव १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘विद्युत प्राधिकरणले करिव एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेका छौं । यो नेपालको लागि महत्वपूर्ण विषय हो । विगतमा १० मेगावाटको विद्युत कतैबाट ल्यान सकिन्छकी भनेर गुहार माग्नुपर्ने स्थिती थियो । अहिले विश्वमा विद्युतको जति संकट भइरहेको छ । युरोपमा १ युनिट विद्युतको करिव १ डलरपर्ने अवस्था छ । यस्तो बेलामा नेपालले भारतमा विद्युत निर्यात गरिरहेको छ । प्राधिकरणको मुख्य उद्देश्य विद्युत निर्यात गर्ने होइन ।
विद्युत खपत गर्ने हो । नेपालको विद्युत नेपालमा नै खपत गर्ने हो । नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्ज्यालो नेपालको बनाउने उद्देश्य साकार पार्ने हो । विद्युत खपत बढाउनको लागि हाम्रो दैनिक जीवनलाई विद्युतमा कन्भर्ट गर्नुपर्छ । घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्नुपर्छ । त्यसपछि मात्रै विद्युतको माग बढ्छ र नेपालको विद्युत नेपालमा नै खपत हुन्छ । त्यो खपतले मुलुकको अर्थतन्त्रमा १० गुणा योगदान गर्छ । निर्यात गरेर भन्दा विद्युत खपत गरेर योगदान बढी गर्नसक्छौं । तर खपत नहुँदा विद्युत खेर फाल्नुभन्दा निर्यात नै गर्ने हो । अहिले नेपालमा विद्युत ५० प्रतिशत सस्तो रहेको छ ।’
प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गर्नुभयो । उहाँले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताउनु भयो । घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिव ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताउनु भयो । उहाँले विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालमा सबै काम विद्युतीय माध्यमबाट गर्नसक्यौं भने कुल आयातमा २० गुणा कम हुन्छ । सम्पूर्ण खाना पकाउने ग्यासको ठाउँमा विद्युत र सवारी साधन पनि विद्युतीय प्रयोग गरियो भने २५ देखि ३० अर्बको विद्युत खपत हुन्छ । त्यसले करिव ५ खर्बको आयातलाई प्रतिस्थापन गर्छ । विद्युत कम मूल्यको खपत हुन्छ तर धेरै मूल्य बराबरको आयातलाई कम गराउँछ । त्यसैले अब हरेक काम विद्युतीय माध्यमबाट गर्नुपर्छ । विद्युतीय चार्जिङ स्टेशन देशभर बनाउने लहर आउनुपर्छ । प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेका छौं । निजी क्षेत्रले चार्जिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले विद्युत पु¥याउने र ट्रान्सफरमर राख्ने काम गरेको छ । निजी क्षेत्रले प्राधिकरणले तोकेको भन्दा २० प्रतिशत विद्युतीय चार्जिङ शुल्क लिन सक्नुहुन्छ ।’
उहाँले अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउनु भयो । घिसिङले निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत र ट्रान्सफर राखिदिने बताउनु भयो ।