काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ मुख्यमन्त्री बनेको बताएकी छन् ।
बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि पत्रकारसंगको कुराकानीमा उनले प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको बताएकी हुन् ।
‘पार्टी एकतालाई जोगाउनका लागि विगतदेखि नै बागमती प्रदेशबाट सन्देश दिने पहल भएको तर केन्द्रीय समीकरण बदलिएका कारण सम्भव हुन सकेको थिएन’, उनले भनिन् ।
उनले मुख्यमन्त्रीको शपथ लिए लगत्तै २ जना मन्त्रीहरु पनि नियुक्त गरेकी छिन् भने आगामी एक महिना भित्रमा मन्त्रिपरिषद्ले पूर्णता दिने बताएकी छिन् ।
निवर्तमान मुख्यमन्त्री तथा मन्त्री, पूर्व मन्त्रीहरु र सबै सांसदहरुको सहयोग र समन्वयका आधारमा बागमती प्रदेश संचालन हुने उनले बताइन् ।
सरकार संचालनमा आफूलाई विपक्षी दलहरुले पनि पूर्ण रुपमा साथ दिने भन्दै सरकार संचालनमा कुनै बाधा व्यवधानहरू नआउने र बागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकारले ५ वर्षे कार्यकाल पूरा गर्नेमा आफु विश्वस्त रहेको बताइन् ।











