२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सङ्ग्रहालयका रूपमा उठ्न थाल्यो साहित्यको मन्दिर

सङ्ग्रहालयका रूपमा उठ्न थाल्यो साहित्यको मन्दिर
अ अ+ अ-

काठमाडौँ । साहित्यको मन्दिर मानिँदै आएको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) ढलेको दुई हप्ता नपुग्दै पुनःनिर्माणको काम थालिएको छ । महाकविले साहित्य साधना गर्नुभएको वास्तविक कुञ्ज त अब कहाँ पाइएला र तर केही सुधारिएको त्यही स्वरुपमा कविकुञ्ज भने अबको एक वर्षमा बन्नेछ । । आजैबाट त्यसको पुनःनिर्माणको काम थालिएको छ । कविकुञ्ज पुनःनिर्माण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय बनाउन शिलान्यास गरिँदा उहाँका छोरा, छोरी, नाति, नातिनासहित छिमेकी र साहित्यानुरागीको उपस्थिति थियो । 

पुरानो घर ढालिएकामा चित्त दुखाउने साहित्यकारले पनि पुनःनिर्माणपछि सङ्ग्रहालय बन्दा केही मलम लाग्ने अनुभव सुनाएका छन् । उक्त कविकुञ्ज साहित्यको मन्दिरकारूपमा चिनिन्थ्यो भने साहित्यकारको तीर्थस्थल पनि हो । उहाँका परिवारसमेत सङ्ग्रहालय बन्ने भएपछि खुशी देखिएको छ । देवकोटाको उक्त घर अब इतिहास बने पनि त्यही स्वरूपमा भवन निर्माण गरिँदैछ । उक्त घरमा देवकोटाले डेढ दशक साहित्य साधना गर्नुभएको थियो । यहाँ महाकविका इतिहास बताउने गरी सङ्ग्रहालय बन्ने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती सुनाउनुहुन्छ । नेपाली वाङ्मय क्षेत्रको सपना साकार हुने गरी र महाकविका इतिहास झल्कने गरी नै भवन निर्माण गरिने पनि उहाँले प्रष्ट्याउनुभयो । 

देवकोटा सङ्ग्रहालय प्रतिष्ठानको नभई जनसरोकारको योजना भएकाले स्थानीय टोलसँगको समन्वयमा निर्माण गर्न लागिएको छ । उप्रेती भन्नुहुन्छ, “देवकोटाको इतिहास नमरोस्, सबै इतिहास देख्न पाइयोस्, पस्ने बित्तिकै देवकोटाको उपस्थिति महसुस होस् भन्नेमा गम्भीर छौँ ।” देवकोटाकी माइली छोरी अम्बिकादेवी रिमालले डिल्लीबजारस्थित उहाँ जन्मेको घरको पनि संरक्षण गर्न प्रतिष्ठानमार्फत सरकारसँग माग गर्नुभयो । जवाफमा उप्रेतीले त्यसको पनि संरक्षण हुने विश्वास दिलाउनुभयो । महाकवि देवकोटा नेपाली साहित्यको कविता, आख्यान, नाटक र निबन्ध विधाका अमर कवि हुनुहुन्छ । कविता र निबन्धमा उच्च स्थान प्राप्त गर्नुभएका देवकोटाका मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृति छन् । मुनामदन अझै प्रख्यात छ ।

स्वच्छन्दतावादी कवि देवकोटाले ‘कुञ्जिनी’ त एकै रातमा लेख्नुभएको थियो । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिनुभएका देवकोटाको विसं २०१६ भदौ २९ मा देहावसान भएको थियो । देवकोटाको घर संरक्षणको अभावमा जीर्ण जस्तै थियो । भूकम्पले चर्काएको थियो । इतिहास र उहाँले प्रयोग गरेका सामग्री नामेट हुने चिन्ता भइरहेका बेला नेपाली साहित्यमा महत्वपूर्ण योगदान गर्नुभएका देवकोटाको इतिहास संरक्षण गर्ने गरी सङ्ग्रहालय बनाउन लागिएको हो ।

देवकोटाकी छोरी अम्बिकादेवीले नै संरक्षण गरिदिन नेपाल सरकारमा निवेदन दिनुभएपछि सरकारले सङ्ग्रहालय बनाउने निर्णय भएको थियो । विडम्बना उहाँले प्रयोग गरेका कति सामग्री छैनन्, कसले कता लगे थाहा छैन । जे बचेको छ, त्यो प्रतिष्ठानले सङ्ग्रह गरेर राखेको छ । 

आज सङ्ग्रहालय शिलान्यासकाक्रममा अम्बिकादेवीले भन्नुभयो, “धेरै वर्ष बित्यो, उहाँको सामान जतन गर्न सकेनौँ, हामीबाट त्रुटि भयो, जसजसले लैजानुभएको छ, उहाँहरुले ल्याएर दिनुहुन्छ भन्ने लागेको छ ।” उहाँले सामान राख्नेहरुलाई ल्याएर दिनपनि अनुरोध गर्नुभयो । मुख्यतःउहाँका धेरै त किताब नै हो । कपडा र उहाँले प्रयोग गरेको हुक्का थियो । “हुक्का सुष्मा शर्माले मसँग छ भन्नुभएको थियो, उहाँ कहाँ हुनुहुन्छ थाहा छैन”,अम्बिकादेवीले सुनाउनुभयो ।

अम्बिकासँग महाकवि देवकोटाले बजाउने गरेको हार्मोनियम छ । “बुबाले दिनुभएको थियो,त्यो चाहिँ सङ्ग्रहालयमा हस्तान्तरण गर्ने सोच बनाएकी छु”,उहाँले भन्नुभयो । देवकोटाले प्रयोग गर्नुभएको कलमसमेत नदेखेको उहाँले बताउनुभयो । “बनावटी कलम यही हो भनेर राखे मात्रै, त्यो बेलाको कलम कहाँ पाउनु !”, उहाँले भन्नुभयो ।

महाकवि देवकोटाले प्रायः एउटा थोत्रो साइकल प्रयोग गर्नुहुन्थ्यो । परिवारका सदस्यलाई साइकल पनि कहाँ गयो थाहा छैन । “त्यो साइकल अब कहाँ पाउनु, त्यो कसले लगिहाल्यो”,उहाँले दुःख पोख्नुभयो । पुरानो घरमा बितेका हरेक क्षणले उहाँलाई पलपल झक्झकाइरहन्छ । अनुहार मुजा परिसक्यो, कपाल सेतै भइसक्यो तर उहाँलाई बुबाको काखमा लुटुपुटु गरेको क्षण अझै ताजै लाग्छ । उहाँकी बहिनी (देवकोटाकी कान्छी छोरी मीरा) अविवाहित बस्नुभएकाले उक्त घर मीरालाई नै दिनुभएको थियो । उहाँको पेटको क्यान्सरकाकारण निधन भइसकेपछि घर स्याहार्ने जिम्मा पनि अम्बिकादेवीलाई नै आइपुग्यो ।

पुरानो घर भत्काइएकाले त्यो सम्झना मात्रै रहे पनि सङ्ग्रहालय बन्ने भएपछि उहाँ पनि खुशी हुनुहुन्छ । सङ्ग्रहालय बन्दा बुबा पनि खुशी हुनुहुन्छ होला भनेर उहाँ कल्पना गर्नुहुन्छ । हर्षित हुँदै अम्बिकाले थप्नुभयो, “घरको चार किल्लामा तामाको घडामा जल राखेर हरे राम हरे कृष्ण, राधेकृष्ण भनेर लेख्दा सबैको कल्याण हुन्छ त्यही गरेर बस्छु ।”

पुरानै शैलीमा धुरीसहितको घर बन्दै

देवकोटाको विसं २०४० अघिको घर परम्परागत शैलीको धुरीसहितको छ, चुच्चे गाह्रोमा दुईवटा झ्याल थियो । मौलिक खालको बार्दली र झ्याल थियो । त्यो बार्दली भत्किएको विसं २०४० मा खिचिएको तस्वीरमा देखिन्छ । त्यसपछि पुनः घरको मर्मत सम्भार गरी धुरी भत्काएर जस्ताको छाना लगाएर केही आधुनिक ढाँचामा तयार पारिएको थियो । त्यही घर अहिले भत्काएर पुरानो धुरी भएको घर बनाउन थालिएको हो । यद्यपि पुरानो संरचनामा भने केही हेरफेर गरिनेछ । चुच्चे गाह्रोमा एउटा मात्रै झ्याल राखिनेछ भने अन्य संरचनामा स्वरूप उही तर आधुनिक तरिकाको रहनेछ ।

देवकोटाले चुच्चे गाह्रोसहितको धुरी भएको घर एक जनापुरोहितबाट विसं १९९० को आसपासमा खरिद गरेको स्थानीयवासीहरु सुनाउँछन् । त्यसअघि उहाँको जन्म भने डिल्लीबजारको धोबीधारामा भएको थियो । त्यो जन्म घर पनि अहिले यथावत नै छ । परिवारका सदस्यले यहाँ सङ्ग्रहालय बनेपछि त्यो जन्म घरलाई पनि संरक्षण गर्न सरकारसँग अनुरोध गरेका छन् ।

कान्छी छोरी मीराको हकभोगमा रहेको उक्त घरजग्गा गुठीको स्वामित्वमा थियो । देवकोटाका परिवारले मोहियानी हक प्रयोग गर्दै आएका थिए । उक्त घरलाई सरकारले रु दुई करोड ५० लाखमा किनेर सङ्ग्रहालय बनाउन लागेको हो । मोहियानी हक भने नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण भएपछि अहिले प्रतिष्ठानले कविकुञ्जको पुनःनिर्माणसँगै देवकोटा सङ्ग्रहालय बनाउन शुरु गरेको हो । यसको लागत रु सात करोड ११ लाखको छ । 

भानु जयन्तीमा सङ्ग्रहालय

आज शिलान्यास भएको उक्त भवन आगामी चैतसम्ममा निर्माण सम्पन्न गरिसक्ने र असार २९ गते भानु जयन्तीका दिन सङ्ग्रहालयका रूपमा तयार पारिसक्ने गरी काम अघि बढेको प्रतिष्ठानका कुलपति उप्रेती बताउनुहुन्छ । 

चालुआवमा नै निर्माण सम्पन्न गर्ने गरी काठमाडौँ महानगरपालिका–३० मैतिदेवीमा शुभसाइतपारेर दिउँसो १२ः२५ बजे भवन शिलान्यास गरिएको छ । यहाँ १२ आनामा भवन बन्नेछ । नयाँ घर देवकोटाको पुरानो घरकै झल्को दिने गरी बनाइने छ । घरको बाहिर सालिक राखिने छ । पुस्तकालय, सेमिनार हल, पढ्ने लेख्ने गरेको स्थान र अन्य प्रयोग गरिएको सामान पनि जस्ताको तस्तै सङ्ग्रह गरेर राखिने छ । रासस