२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश श्ययाको अस्पताल बन्न थालेपछि स्थानीय खुसी



अ+ अ-

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका सबै वडामा सामुदायिक स्वास्थ्य इकाइ तथा स्वास्थ्यचौकी छन् । जटिल प्रकारको उपचार गर्न यहाँका नागरिक बुर्तिबाङ झर्न बाध्य छन् । उनीहरुले अहिलेसम्म निसीखोलामा विशेषज्ञ डाक्टरबाट उपचार गराउन पाएका छैनन् । एक दशक अगाडिसम्म जिल्लाकै सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको निसीखोला मध्यपहाडी लोकमार्गले अहिले निकै सुगम बनेको छ । तर गुणस्तरीय स्वास्थ्य सेवाका हिसाबले अझै दुर्गम छ ।

वर्षौंदेखि स्थानीयले निसीखोलामा अस्पतालको माग गर्दै आएका थिए । तर त्यसको सुनुवाइ भने हुन सकेको थिएन । गत वर्षदेखि यहाँ अस्पताल बनाउने प्रक्रिया अगाडि बढे पनि अहिले बल्ल निर्माण सुरु भएको छ ।

गाउँपालिकाको वडा नं ४ झिम्पामा पालिकास्तरीय १० श्ययाको अस्पताल बन्न सुरु भएको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ । “अब बिरामी भए पनि हजारौँ पैसा खर्च गरेर टाढा जान नपर्ने भयो, गाउँमै ठूला अस्पताल बन्न थालेको छ, अहिलेसम्म यस क्षेत्रका मान्छे बिरामी पर्दाबित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौँ जाने गर्थे”, स्थानीय नरबहादुर घर्ती मगरले भन्नुभयो, “यहाँ अस्पताल बन्न लागेपछि त हाम्लाई निकै खुसी लागेको छ, यस ठाउँका जनतालाई अब केही दुःख हुने छैन, उपचारको हो दुःख भएको, अब अस्पताल बन्ने भयो ।”

सङ्घीय सरकारको सहयोगमा निसीखोला आधारभूत अस्पताल बन्न लागेको हो । अस्पताल आगामी २०८० पुस महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमान गरेकामा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्नेगरी जिम्मा लिएको गौतमको भनाइ छ । अस्पताल १० श्ययाको हुनेछ ।

“अघिल्लो वर्षदेखि नै काम गर्नेगरी अस्पतालको सम्झौताको काम पूरा भएको थियो, निर्माण कम्पनीले अहिले काम गरिरहेको छ”, गौतमले भन्नुभयो, “अहिले अस्पतालको भवन निर्माणका लागि पिलर उठाउने काम भएको छ, निर्माण कम्पनीले कामलाई तीव्रता दिएको छ ।”

केन्द्र सरकारले कार्य प्रगतिका आधारमा बजेट दिने गौतमको भनाइ छ । अस्पताल भवन सुविधा सम्पन्न हुने र निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गरिने जनाइएको छ । भवन दुईतले हुने छ ।

भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यकपर्ने मापदण्डमा उल्लेख छ । स्थानीय दुर्गबहादुर सुनारलगायतका दाताले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो ।

अस्पताल गाउँपालिका– ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका नागरिकलाई स्वास्थ्योपचारमा सहज हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो ।

उहाँले वर्षौंदेखि यहाँका नागरिक सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिनसक्ने बताउनुहुन्छ । अध्यक्ष घर्ती मगरले भन्नुभयो, “माग गरेको लामो समयपछि अस्पताल बन्न थालेको छ, यसको निर्माण सम्पन्नपछि यहाँका नागरिकले विशेषज्ञ डाक्टरसहितको सेवा पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।”

स्वास्थ्योपचारका लागि नजिकमा अस्पताल नहुँदा विगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै अब कुनै पनि नागरिकले स्वास्थ्योपचार पाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो । अध्यक्ष घर्तीमगरले अब सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुने बताउनुहुन्छ ।

अध्यक्ष घर्तीमगरले अहिलेसम्म पालिकामा एउटा पनि एम्बुलेन्स नभएको भन्दै त्यसका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । चालु आर्थिक वर्षमै एम्बुलेन्स सञ्चालनका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेको उहाँको भनाइ छ । “पालिकाले एम्बुलेन्स सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको छ भने आवश्यक प्रक्रिया पनि अगाडि बढाइसकेका छौँ, सम्भव त यसै वर्ष सञ्चालनमा आउला ।