१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ओझेलमा पर्दैछ दाङका गन्धर्वको पेशा

ओझेलमा पर्दैछ दाङका गन्धर्वको पेशा
अ अ+ अ-

दाङ । “कहाँ गयौ गीत गाउने गाइने दाइ, दुःख पीडा वेदनामा चाहिने दाइ,
हुनेखानेका छोराछोरी बोर्डिङ स्कुल पढ्ने, गरिबका छोराछोरी भोकभोकै मर्ने ।”

आइतबार तुलसीपुर उपमहानगरपालिका– ४ को गन्धर्व बस्तीमा रिपोर्टिङका लागि पुगेका बेला यही गीत गुनगुनाउँदै हुनुहुन्थ्यो ६० वर्षीय टेकबहादुर गन्धर्व । करिब १५ वर्षअघिसम्म गाउँगाउँमा पुगेर आफूले गाउने गरेको यो गीत सारङ्गीको मीठो स्वरमा उहाँ सुनाउँदै हुनुहुन्थ्यो ।

पहिले गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका उहाँले गन्धर्वको पुख्र्यौली पेशा अहिले भने ओझेलमा पर्नै लागेको छ । आफ्नो पेशा सङ्कटमा परेकामा दुखेसो पोख्दै टेकबहादुर भन्नुहुन्छ, “पहिलेका घर मालिकले प्रशस्त अन्न दिन्थे । त्यसैबाट घरपरिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारङ्गी बोकेर गाउँदै हिँड्दा धेरैले सहयोग गर्दैनन् । कतिले त अपशब्द नै प्रयोग गर्ने गर्छन् । काम गरेर खान नसक्ने अल्छी भनेर गाली पनि गर्छन् । त्यसैले शरम लाग्छ मलाई ।”

उहाँले २० वर्ष पहिलेदेखि जिल्लाका ग्रामीण क्षेत्रका साथै तुलसीपुर, घोराही, लमहीका बजार क्षेत्रमा गीत गाउँदै हिँड्नुहुन्थ्यो । “हामीलाई समाजले हेला गर्ने र राज्यले पनि बेवास्ता गरेकाले गाइने पेशाबाट खान लाउन नपुग्ने अवस्था आएको हो”, उहाँको अनुभव छ ।

बढ्दो गीतसङ्गीत एवं प्रविधिको विकासका साथै समाजले पनि आपूmहरूलाई हेयको दृष्टिले हेर्ने गरेका कारण आफूहरु अहिले परम्परादेखिको यो पेशा छोडेर अरु पेशा अगाल्न बाध्य भएको उहाँको भनाइ छ ।

टेकबहादुरका अनुसार करिब ६३ घरधुरीमा करिब पाँच सय गन्धर्व रहेको उक्त टोलका अहिले यो पेशामा १२ जना मात्र छन् । उनीहरु पनि कुनै काम नपाएका बेलामा मात्र गाउँदै हिँड्छन् । हातमुख जोड्न साह्रै मुश्किल परेकाले यो पेशा नै गर्न नपरोस् भन्ने उनीहरुको सोच छ ।

“देशमा लोकतन्त्र, गणतन्त्र आयो र सङ्घीय संरचनामा तीन तहका सरकार बने तर हामी गन्र्धवको अवस्था भने जस्ताको तस्तै छ । उत्थानका लागि कसैले पनि सहयोग गरेनन् । अहिले पनि हामीलाई कसरी घरखर्च चलाउन तथा बिहान खाए बेलुका के खाने भन्ने समस्या छ ।” सोही टोलका ६८ वर्षीया शालिकराम गन्र्धवको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले गायन पेशाप्रति देखाएको उदासिनताले आफ्नो जातिको अस्तित्व नै मेटिनसक्ने चिन्ता छ ।” आफ्ना युवापुस्तालाई आर्थिकरुपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचान जोगाउन पुख्र्यौली पेशा अँगाल्न सकिने उहाँको भनाइ छ ।

आफ्ना पुर्खा सल्यानको हिउँल्चाबाट दाङ आएको बताउनुहुने सोही टोलका २४ वर्षीय विशाल गन्धर्व हातमुख जोर्न मुश्किल भएपछि पलायन भएको स्मरण गर्नुहुन्छ । गन्धर्व हाल दाङको तुलसीपुर, पातेटाकुरा, एकलीलगायत स्थानमा ज्याला, मजदुरी, माछा मार्ने गरेर जीविका चलाउँदै आएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “आफूजस्ता युवालाई स्थानीय सरकारले आयआर्जनका लागि बङ्गुरपालन, बाख्रापालनसम्बन्धी तालिम दिइ व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग गरेमा आत्मनिर्भरताका लागि सहज हुने थियो ।”

उहाँले आफूले गाउने पेशा सङ्कटमा परेपछि गरिबीका कारण पढ्न नपाएर अहिले तुलसीपुर बजारमा ठेला चलाएर जीवीकोपार्जन गरिरहेको विशालले बताउनुभयो । स्थानीयवासी विजय गन्धर्व पनि पहिले मानामुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पालगायत स्थानसम्म पुग्ने गरे पनि सो पेशाबाट घरपरिवार पाल्न नसकेपछि हाल तुलसीपुरमा आएर मजदुरी गर्दै परिवार पाल्ने गरेको गरेको बताउनुहुन्छ ।

सल्यान बयलडाँडा पुख्र्यौली घर भई हाल तुलसीपुरमा बस्नुहुने ५० वर्षीय महेन्द्र गन्धर्व पनि आफ्नो जातीय पहिचान बोकेको गन्धर्वको संस्कृति हराउन थालेकामा चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “गाइनेहरुले हिजोआज गायकगायिकाका गीतहरु मात्र सुनाउने तर आफूले खासै मेहनत नगरेका कारण पनि परम्परागतशैली हराइसकेको छ, कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने ‘कर्खा भाका’ अहिले सबैलाई गाउन आउँदैन ।”

नयाँ गायकको नक्कल गर्ने प्रवृत्तिले लोकप्रिय ‘कर्खा भाका’ हराउन लागेकामा गन्धर्व समुदायका अगुवा एवं गायक सुशील गन्धर्व भन्नुहुन्छ, “गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले नेपाली संस्कृतिको एउटा अध्याय नै मेटिन लागेकोे छ । हरेक चुनावमा हामीलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरिन्छ”, उहाँ भन्नुहुन्छ, “अहिले तीन तहका सरकार छन् । हामीहरुको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तहको सरकार हो । स्थानीय तहको सरकारले पनि गन्धर्वको उत्थानका लागि अहिलेसम्म कुनै कार्यक्रम सञ्चालन गरेको छैन ।”

लोपोन्मुख यो संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र उक्त समुदायका युवालाई रोजगारी तथा आयआर्जनका काममा लगाउन राज्यले उचित नीति बनाउनुपर्नेमा शिक्षिका कमला चापागाईं जोड दिनुहुन्छ ।

समाजमा भएका राम्रानराम्रा घटनालाई गीत बनाएर सुसेल्ने गन्धर्वको पेशा हराउँदै जानु नेपाली संस्कृतिका लागि दुर्भाग्यपूर्ण हुने संस्कृतिविद् अशोक थारूको भनाइ छ । उहाँ भन्नुहुन्छ, “समाजमा भएका विकृतिलाई सारङ्गीको मीठो धुन अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पेशाको संरक्षण गर्न सबैले पहल गर्नुपर्छ, साथै गन्धर्वले पनि आफ्नो पेशाप्रति गर्व गर्नुपर्छ ।”रासस