२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

हिटलर

हिटलर
अ अ+ अ-

हिटलरलाई दूध खान मन लाग्यो ।

हो, आजको मेरो कथाको पात्र हो हिटलर । मेरो कथाको नायक बनिदिने धेरै दिनको मेरो अनुनयविनयपछि मात्र उसले पात्र बन्न स्वीकार  गरेको दोहोरा म मेरा पाठकहरुलाई

स-सम्मान जानकारी दिन चाहन्छु ।

हिटलर अचेल मेरो रुमपार्टनर भएको छ । जतिखेर ऊ मकहाँ आयो, सहरमा दंगा सुरु भइसकेको थियो र सहरभरि पुलिसहरु कफ्र्यूको आदेश छर्दै थिए । त्यसैले आउनेवित्तिकै मैले एकछिन थकाइ मेटुँ, अनि सहर डुल्न जाउँला, भन्न सकिनँ ।  हिटलरले पनि केही भनेन । हामी केही बेर स साना टुक्राटुक्री कुराहरु गरेर निदायौँ ।

राति एकदुई पटक हिटलर तर्सेर बिउँझ्यो । उसले सहरभित्र बाघ देखेछ । अचेल हिटलर बाघ देखेर तर्सिन थालेछ, यो कुरा, पाठक महोदय, तपाईहरुलाई अचम्म लाग्ला । लाग्दैन? हो पनि, किन लागोस् ? आजको समय र परिवेशमा अचम्म भन्ने कुरा के ?

के एकसाथ सय पचासको हत्या हुनु अचम्म हो ?

सय जनाको एकै पटक नाक काटिनु कुनै अचम्म हो ?

सहरमा प्रत्येक मान्छेले एकअर्कालाई हतियार देखाएर तर्साउनु अचम्म हो ?

निश्चय पनि आधुनिक समय र सन्दर्भमा यी अचम्म का कुराहरु होइनन्, पक्कै होइनन् ।

राति हटिलरलाई ऐठन पनि पर्यो । उसले कैयन् पटक आफ्नो घाँटी निमोठिएको सपना देख्यो र गुहार माग्न खोज्यो सपनामै । अहँ, पटक्कै आवाज निस्किएन । घ्यार्रघ्यार्र गरेको त मैले पनि सुनेको थिएँ तर त्यतिखेर ऊ त्यति भयावह सपना देखिरहेको बेला, मैले कसरी ठम्याउनु । निकै बेरको संघर्षपछि मात्र उसका आँखा खुले र आँखा खुलेको केही बेरपछि मात्र सहज अनुभव गर्यो ।

राति हिटलरले एउटा अर्को सपना पनि देख्यो सहरका जम्मै व्यक्तिहरु समलिंगी भएको र सबैले बलजफ्ती उसको लुगा फुकालेर उसलाई नांगो पारेको । हिटलर तयतिखेर रोयो । बिउँझँदा पनि उसका आँखाका कापमा आँसु कटकटिएको थियो ।

र बिहानै हिटलरलाई दूध खान मन लाग्यो ।

तर उसको इच्छा पूरा गरिदिन हाल सम्भावना थिएन । मकहाँ नियमित रुपमा दूध पुर्याउने दूधवाला थिएन । त्यसैले दूध वा दूधबाट बनेका पदार्थहरुका लागि बजारमै जानुपर्ने बाध्यता थियो । र बजार जाने उपाय थिएन कफ्र्यूका कारण ।

सहरमा आगो लागेको थिएन तर आगोको तातो चारैतिर अनुभव भइरहेकी थियो । मान्छेहरु एकअर्कालाई एकसाथ आक्रमण र अविश्वासको भावले हेरिरहेका थिए । अस्पतालअगाडि दंगा, वडा प्रहरी कार्यालयअगाडि नै झडप, गल्लीहरुमा ढुंगा हानाहान, इदगाह अगाडि हात हलाहाल, मन्दिरअगाडि टाउको फोराफोर आदि इत्यादि कुराहरु आफ्नो सम्पूर्ण शक्ति, सामथ्र्य र आवेगका साथ भइरहेका थिए, घटिरहेका थिए ।

कट्टाहरु, छुराहरु, हयगोलाहरु, चेनहरु र बन्दुकहरुको खोजी सुरु भइसकेको थियो । सीमाका चोर बाटाहरुबाट यी कुराहरु भित्रिरहेका थिए ।

आशा, विश्वास, समझदारीका  निम्ति सहर साँघुरो भइरहेको थियो ।

सर्वदलीय बैठक  एकअर्कालाई  आरोप प्रत्यारोप गर्दै सिद्धियो । आजको सन्दर्भमा मानवता विषयक  प्रवचन कार्यक्रममा एउटा श्रोता पनि उपस्थित भएन । तटस्थ व्यक्तिहरु शान्ति मार्ग गर्न डराए  ।

स्थिति यस्तो थियो र यस्तोमा दूधको सम्भावना थिएन । यही कुरा भन्न, स्पष्ट गर्न म हिटलरतिर फर्किएँ तर हिटलर आफ्नो साबिकको स्थानमा थिएन । ऊ बसेको ठाउँमा एउटा सानो चिट थिो र लेखिएको थियो दूधको खोजी ।

अर्थात् हिटलर दूधको खोजीमा निस्कियो ।

मसित, मभित्र यतिखेर डर पनि थियो र रिस पनि ।

यो ठाउँ, यहाँको परिवेश, यहाँका बाटाहरु, यहाँको स्थिति, सबैतिर अपरिचित हिटलर हराउन पनि सक्थ्यो अथवा हराइन पनि सक्थ्यो । त्यसैले उसलाई खोज्नु र रोक्नु जरुरी थियो ।

लुगा फेरेर म पनि निस्किएँ हिटलरको खोजीमा ।

म मूल सडकमा आइपुग्दा सडकमा कुकरहरु थिए पुलिसहरु पनि थिए । यो एरियामा कफ्र्यू जारी गरिएको थिएन तर डर, त्रास र अविश्वासहरु जारी थिए । शंका उपशंकाहरु जारी थिए । क्रोध, आवेग र उन्मादहरु पनि जारी थिए ।

डर, त्रास, अविश्वास, शंका उपशंका, क्रोध, आवेग र उन्मादहरु छिचोल्दै, पुलिस र कुकरहरुसित जोगिदै म कफ्र्यूग्रस्त बजार पुगिने  गल्लीभित्र फुत्त पसेँ ।

गल्लीभित्र पनि कुकुरहरु थिए । यिनीहरुलाई कफ्र्यूको डर थिएन । त्यसैले यतिखेर सबैभन्दा डरलाग्दा कुकुरहरु नै थिए तर गल्लका  कुकुरहरुबाट पनि म जोगिएँ र जुग्गीलालको बन्द रहेको पसलनेर पुगें । दायाँ टाँगास्टयान्ड र बायाँ राधाकृष्ण मन्दिरसम्म तन्काएर हेरें । बुट, टोप, बन्दुक र लट्ठीहरुबाहेक कतै केही देखिनँ । पसलहरु यस्तामा खुल्ने कुरै  थिएन । त्यसैले दूधको खोजीमा निस्किएको हिटलरलाई यतातिर भेटिने सम्भावना रहेन ।

बुट, टोप, बन्दुक र लट्ठीहरु विपरीत दिशातिर फर्किएको  मौका छोपी म खुरुर्र दौडेर ठीक अगाडिको महेन्द्रपार्क जाने गल्लीभित्र पसें । ढुक्क भएँ । नाबेल्टी हेयर कटिङ स्यालुननेर अडिएर चुरोट खान सलाई झिकें तर खल्तीमा चुरोट रहेनछ । हातमा यतिखेर सलाई मात्र रह्यो र म आफ्नै हातमा सलाईदेखि डराएँ । एउटा घरको झ्यालबाट च्याइरहेको, आठ दस वर्षको आँखा पनि डरायो । मानौं म उसको घर सल्काउन आएको छु । आँखाले आतंकित  भएर झ्याल बन्द ग-यो  मैले हत्तपत्त सलाई फेरि खल्तीभित्र हुलें ।

घसियारन टोलबाट सोझैं हिँडेपछि म फेरि चोकनेरको बाटामा मिसिने गल्लीको मुखमा पुगेँ र गल्लीकै मुखबाट दायाँबायाँ अवलोकन गरेँ । चाट पसलअगाडिका खाली ठेलाहरु, बिरयानी पसलअगाडिको फोहोर, उन्मादीहरुद्वारा ध्वस्त रजाक कवडियाको तरकारी पसल, पानका पिकहरु, भागाभागमा छुटेका चप्पलहरु, यतिखेर बजारमा यति मात्र थिए । मिठाई पसलहरु, चिया पसलहरु सटर झारेर मौन बसेका थिए । त्यसैले दूधको पूर्ण सम्भावना थिएन ।

र त्यसैले  हिटलर यता कतै देखिएन ।

त्यसपछि ठीक अगाडिको एक्लैनी पुग्ने गल्लीभित्र बन्द बजारलाई झुक्याएर मौनताको आँखा छलेर फुत्त पसें । सौरभ इलेक्ट्रोनिक्स, भेरी प्रिन्टिङ प्रेस, दिलवाले टेलर्सका बोर्डहरु सायद छक्क परेर मलाई हेरिरहे । र म सोझै दुकान र मुसाफिरखानअगाडि पुगेँ । कवाबका उब्रिएका बासी टुक्राहरु, पातहरु, अण्डाका बोक्राहरु र एकअर्कालाई हिर्काएका ढुंगाहरुबाहेक केही थिएन । हिजो अस्तिसम्मको व्यस्त हटारु बजार टाउकामा हात राखेर अपशकुनको मुद्रामा पसारिएको थचारिएको देखिन्थ्यो ।

यति मौनतामा पनि उन्मादको तीव्र ध्वनि किन व्याप्त छ ? कार्तिकका सुरुका दिनहरुमा यो तातोपन कस्तो ? यतातिर पनि मिठाई पसल र चिया पसलहरु खुल्ने कुनै सम्भावना थिएन र हिटलर यता पनि थिएन ।

अब मुसार्फिरखानाको दाहिनेतिरको साँघुरो गल्लीमा हिँडिरहेको थिएँ । यो बाटाबाट लक्ष्मी चित्रमन्दिरनेर पुगिन्छ । टाढा कतै बुटहरुको होहल्ला सुनेर म रोकिउँ र एउटा खम्बाको आडमा लुकेँ । बुटको होहल्ला टाढा पुगेको अनुमान लगाएर म सिनेमा हलअगाडिको बाटामा आइपुगें । विगत डेढदुई वर्षयतादेखिका नयाँ पुराना सिनेमाका पोस्टहरु, नायक हराएर खलनायकको मात्र भूमिका भूमिका  शेष रहेको  सिनेमा देखाएर  थाकेको सिनेमा हल, बदामका बोक्राहरु, सो सिद्धिएपछि फालिएका प्रयोजनहीन टुक्राहरु ।

र यहाँ पनि हिटलरलाई खोज्नु व्यर्थ थियो ।

दूध ।

र हिटलर ।

यतिखेर म यी दुवैसित अत्याधिक क्रुद्ध थिएँ । क्रुद्ध त थिएँ तर हिटलरप्रति अगाध स्नेहको भाव पनि थियो मभित्र । बिचरो हिटलर, उसका निर्दोष आँखाहरु, आतंकविहीन जुँगा, निश्छल मुहार । त्यस्ता आँखा, त्यस्तो जुँगा, त्यस्तो मुहार  अचेल कुन मान्छेसित  बाँकी छ ? तानाशाही, बहसीपन, उन्माद अचेल मान्छेभित्र यीबाहेक अरु के छ ?

अरु के छ ?

के छ अरु ?

म लक्ष्मी क्लथ हाउसलाई छिचोलेर, भत्काएर नयाँ बाटाबाट नयाँ सिनेमा हल हुँदै धम्बोझी आइपुगें ।

थापाजीको बन्द फोटो स्टुडियो, संवेदनालाई खिच्ने कोडयाक रिलका खाली खोलहरु, पासपोर्ट साइजका तर च्यातिएका ब्ल्याक एन्ड ह्वाइट फोटोका टुक्राहरु, डेभलपर र फिक्सर खरिद गरिएका पुराना बिलहरु ।

बन्द दूध पसल फुटेका माटाका कथ (कुज्जा) हरु र तिनमा लागेको नौनी निकालिएको दूधको  सेतोपना ।

र त्यसरी नै सातो गएर सेतो भएको सहर । अब हिटलरलाई खोज्न कुनै ठाउँ रहेन ।

कर्फ्यू हट्यो ।

एकसि सटरहरु घ्यार्रघ्यार्र खुल्न थाले । मान्छेहरु बाँध भत्किएर पानी छताछुल्ल भएझैं जताततै पोखिए । आवाजहरु सुरु भए । कुकुरहरु अप्रत्याशित रुपले कम देखिन थाले ।

उन्माद बोकेका, एकाधिकारको भाव ओढेका तानाशाह मनको दास भएका मान्छेहरु, बाघहरुले झैं फेरि एकअर्कालाई हेर्न थाले, समलिंगीझैं नग्नता खौज्न थाले, घाँटी निमोठ्ने भावहरु आफूभित्र एकत्रित गर्न थाले ।

र दंगा फेरि सुरु भयो ।

धम्बोझी चोकमा दंगा, त्रिवेणी मोडमा दंग, एकलैनी बजारमा दंगा, त्रिभुवन चोकमा  दंगा, अस्पताल अगाडि दंगा ।

म हिटलरलाई खोज्दै, मान्छेहरुबाट जोगिँदै, दंगाहरुलाई छिचोल्दै अस्पतालनेर आपुगें । अस्पतालभित्र पसें । इमर्जेन्सी बार्डमा घाइतेहरु, रगतहरु । वार्डको भुइँमा , भित्तामा रगत

मान्छेहरु रगतसित खेल्दै थिए । रगत आँखाभरि एकत्रित गर्दै थिए, मनभरि एकत्रित गर्दै  थिए । रगत पोख्दै थिए, रगत पिउँदै थिए ।

र हिटलर त्यहीनेर, अस्पतालनेर, मरासिनीको पी.सी.ओ. अगाडि, भर्खरै खुलेर भर्खरै बन्द भइसकेको चिया पसलमा किनेको दूध पिउँदै, वाल्ल पर्दै, अनौठो मान्दै, डर, विस्मय, उत्सुकता र दिकदारीसाथ उभिएको थियो ।

‘हिटलर दंगा हेर्दै थियो’ यस्तो शीर्षकको समाचार गोरखापत्र, कान्तिपुर, विमर्श, जनमञ्चका संवाददाताहरुले पठाएनन् । आजका सन्दर्भमा हिटलर कुनै समाचार हुन सक्दैन । कुनै अनौठो व्यक्ति हुन सक्दैन । हत्या, मारकाट, अस्थिरता, आतंक, दंगा, अविश्वास, राजनीतिक तानातानबीच हिटलर को हो ? के हैसियत हिटलरको ?

मरासिनीले आफ्नो पी.सी.ओ. बन्द गर्दै हिटलरलाई भन्यो, “घर फर्किनुस् महाशय ।”