२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमित व्यक्तिको घेराबन्दीमा फुटबल संघ



अ+ अ-

काठमाडौ ।  उज्बेकिस्तानको तासकन्दमा आयोजना हुने महिलाहरूको एएफसी छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेको छ ।  यस टोली प्रशिक्षण शिविरमा रहे देखि नै अनेकौँ विवादहरू देखा परे । पहिलो विवाद प्रशिक्षण टोलीमा रहेको छ । गेरी फीलीप्स मुख्य प्रशिक्षक रहेको सो टोलीको असिस्टेन्टमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ समेत रहेकी छिन् ।

मुख्य प्रशिक्षक एउटा टोलीको सहायक प्रशिक्षक हुने कुरा कानुनी आधारमा गलत नठहरिएला तर, नैतिक रूपमा विवादास्पद मानिएको छ । त्यसो त अरुणा विगतमा फुटबल सङ्घमा रेफ्रिको रूपमा तथा राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षकको रूपमा तलब लीने गरेको कारण आलोचित हुने गरेकी थिइन् । मुख्य प्रशिक्षक भए पनि उनी यस अघि  प्रशिक्षणमा सक्रिय नाम भने होइन ।

महिलाको रूपमा भगवती थापा र अरुणा रहे पनि सक्रिय र फुटबलको कोर्समा अब्बल भएकी भगवती रानालाई बेवास्ता गर्नुलाई अर्थ पूर्ण मानिएको छ । त्यसो त मेनेजर पेमा डोल्मा लामा यस अघि पोखरामा भएको प्रशिक्षणको दौरान काठमाडौँमा नै समय बिताएको कारण आलोचित रहेकी थिइन् । यस पटक पनि महिला राष्ट्रिय टोलीमा डोल्मा लामाको निरन्तरता रहनु अर्थपूर्ण रहेको छ । 
त्यसो त महिला टोलीको हकमा मात्र पुरुष राष्ट्रिय टोलीको हकमा पनि यसै खाले घटना नभएका होइनन् । बालहरी सिंहको रूपमा अखिल नेपाल फुटबल सङ्घ(एन्फामा) बाल गोपाल महर्जन, हरि खड्का र उपेन्द्र मान सिंहको समन्वयको चर्चा हुन्छ । बाल गोपाल राष्ट्रिय टोलीको प्रशिक्षक रहेकै समयमा उनलाई एनएसएल लिगको सिफारिस गरेका कारण विवादित बनेको एन्फामा मधुसूदन उपाध्यायको उपस्थित र प्रभावलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । 

एलएसएलको दौरान बाल गोपाल प्रशिक्षकको रूपमा रहेको काठमाडौँ रेजर्समा मधुसूदन आबद्ध थिए । एन्फामा चतुर खेलाडी मानिने मधुसूदन कुनै समय एमालेका कार्यकर्ता थिए । अवसरको पछि लाग्ने उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग नजिक मानिन्थे । कुनै समय नेपाल ओलम्पिक कमिटीको निर्वाचन हुँदा एन्फाका तत्कालीन महासचिव धिरेन्द्र प्रधानलाई प्रतिनिधि बनाउने देखि ओलम्पिक कमिटीमा समाहित गराउने कुरामा मधुसूदन पनि त्यसै कित्तामा सक्रिय थिए । 

पूर्व अध्यक्ष गणेश थापाको कार्यकाल पछि नरेन्द्र श्रेष्ठलाई साथ दिएका उनले तत्कालीन एमालेको भातृ सङ्गठन नेपाल खेलकुद महासङ्घको प्रतिनिधित्व गर्ने मोहम्मद समिउल्लाह सहितको टोली र एन्फाको संस्थापन पक्षका बिचमा समन्वय गराउन पनि लागी परेका थिए । एन्फाको निर्वाचनमा नरेन्द्र  उम्मेदवार नभए पछि श्रेष्ठको सरल प्रकृतिकै कारण मनोमानी गर्नेहरू बिच्किएको चर्चा सो समयमा पनि चलेको थियो । हालका महासचिव इन्द्र मान तुलाधर सहितको एउटा समूह कर्मा छिरिङ शेर्पासँग सहकार्य गर्न तयार भएको थियो । 

हाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको बिचमा एउटा समन्वय रहेको छ । यो समन्वयमा पनि मधुसूदनकै भूमिका रहेको छ । उनले यसका लागि राजनीतिक शक्तिको पनि प्रयोग  गरेका छन् ।  यी सबै बापत पुराना फुटबल कर्मी कृष्णभक्त मानन्धरलाई प्रतिस्थापन गर्दै उनी लगातार मेनेजर हुन सफल भएका छन् । अहिले फुटबल सङ्घलाई नजिकबाट हेर्नेहरू भन्छन्, “ प्रशिक्षणमा बाल गोपाल, हरि र उपेन्द्र तथा व्यवस्थापनमा मधुसूदनकै भूमिका हो । ” फुटबललाई भित्रबाट सञ्चालन गर्ने र निश्चित व्यक्तिले निरन्तर लाभ लिने क्रममा अन्य थुप्रै नाम र अनुहार रहेका छन् ।