२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानबाट थप दुई लाख ८० हजार डोज खोप नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौं । सरकारले थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार जापानबाट  थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप आइपुगेको हो । 

कोभ्याक्स सुविधा अन्तर्गत जापानले दिएको १६ लाख डोजमध्ये आठ लाख बढी खोप यसअघि नै आइसकेको छ भने थप दुई लाख ८० हजार खोपको मात्रा आज नेपाल आइपुगेको हो । बाँकी खोप पर्सि सोमवारसम्म आइपुग्नेछ । 

यस्तै अस्ति बुधवार र बिहीवार दुई दिन चीनबाट नेपालले साइनोफार्म कम्पनीबाट १६ लाख डोज भेरोसेल खोप ल्याएको उहाँले  जानकारी दिए । ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो ।

काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ । यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ ।

देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको महाशाखाले जनाएको छ । 

कोरोना महामारी र सङ्क्रमण घटाउन खोप नै महत्त्वपूर्ण भएको डाक्टर गौतमका भनाइ छ । खोप ल्याउने र लगाउने, परीक्षणको दायरा बढाउने काम भइरहेको तथा स्वास्थ्यका मापदण्ड पालनामा सबैलाई जिम्मेवार बन्न पनि उहाँको सुझाव छ ।