२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनै र जनै पूर्णिमामा खाने क्वाटीको व्यापार ह्वात्तै घट्यो



अ+ अ-

काठमाडौं । जनै र जनै पूर्णिमाको रातमा खाईने क्वाटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन । 

जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन । न्यूज एजेन्सी नेपालले राखेको जिज्ञासाको जवाफ दिने क्रममा असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताउनु भयो । क्वाटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उहाँको भनाई छ । तुलाधरले भन्नु भयो, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर यसको व्यापार कम छ ।’

यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिनु भयो । उहाँले कोहीकोही बुढाबुढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउननै छाडिसकेको अनुभव सुनाउनु भयो । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गर्नु भएको छ । तर ग्राहक पाउनै समस्या भएको उहाँको गुनासो छ ।

जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर कोरोनालगायतका प्रभावका कारण जनै र क्वाटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाई छ ।