काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम काम गर्ने बताउनुभएको छ ।
ज्येष्ठ कांग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जन अपेक्षा बमोजिम नै काम गर्नेछ ।”
सहमहामन्त्री डा महतले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका बाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनी राजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा आउने थिएन भन्नुभयो ।
देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिष्ट पार्टीहरुबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर यो सरकारलाई विकल्पका रुपमा रोजेका उहाँको तर्क थियो ।
त्यसैले पनि यो सरकारले जनताको चाहना बमोजिम काम गर्नुपर्ने भन्दै सीमित साधन र स्रोतका बाबजुद पनि यो सरकारले आगामी दिनका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्ने र जनताका पक्षमा काम गर्ने बताउनुभयो ।
कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेका दृष्टान्त पेश गर्दै यस अघिको सरकारमा पनि त्यस्तै अहंकार देखिएको र जसका कारण नेपाली नागरिकले कम्युनिष्ट सरकारलाई पाँच वर्षका लागि दिएको जनादेश तीन वर्षमै दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकहरु देशका अनुभव र प्रेरणाका खानी भएकाले उहाँहरुको सुझाव र दिशानिर्देश अनुसार काम गर्दा देशको विकास हुने र समाज पनि समृद्ध बन्ने बताउनुभयो ।
ज्येष्ठ नागरिकको सम्मान गर्ने र उहाँहरुले देखाएको सही बाटोको अनुशरण गर्ने समाज नै समृद्ध बन्ने उहाँले बताउनुभयो ।