२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीको उद्धारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै



अ+ अ-

काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् ।

सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् । उद्धार भएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको पनि जनाइएको छ । शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र नौ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् ।

यता परराष्ट्र मन्त्रालयले भने उद्धारको पर्खाइमा रहेका नेपालीलाई ल्याउन पहल भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले ६ दिनदेखि विभिन्न मित्र राष्ट्र र विदेशी नियोगसँग समन्वय गरेको जनाएको छ ।

अफगानिस्तानमा कति नेपाली उद्धारको पर्खाइमा छन् भन्ने पूरै विवरण अझै आइसकेको छैन । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार आइतबार साँझसम्म ३ सय ५६ जना नेपालीहरूले उद्धारका लागि आफ्नो विवरण दर्ता गराएका छन् । ती नेपालीको उद्धार कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले अझै पहल थाल्न सकेको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धारका लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित गन्तव्यसम्म पुगेकाहरूको विवरण रुजु गर्ने काम भइरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू अगाडि बढाइरहेको बताएको छ । आइतबार परराष्ट्र मन्त्रालयले मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको बैठक राखेर उद्धारको पहल गर्ने भनेको छ । उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय गर्ने जनाएको छ । परराष्ट्रले हाल उद्धार उडान गरेका राष्ट्रहरूसँग समन्वय र सहकार्य गर्ने भनेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।