६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ हिमताल बन्दै जोखिम पनि बढ्दै



अ+ अ-

काठमाडौं । विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । हिमालको हिउँ पग्लने दर बढ्दै जाँदा हिमाल काला पहाडमा परिणत हुने र नयाँ–नयाँ हिमताल उत्पत्ति हुने क्रम बढिरहेको छ ।

हिन्दकुश हिमालय क्षेत्रको एकीकृत विकासका लागि अध्ययन, अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको एक अध्ययनले मेलम्चीको माथिल्लो भेगमा सानो हिमताल फुटेपछि बाढीपहिरोले बढी मात्रामा क्षति पुर्याएको देखाएको छ । यो फुटेको हिमताल केही वर्षअघि मात्र देखापरेको नयाँ हिमताल भएको अध्ययनले देखाएको छ । केही दिनअघि मेलम्चीमा बाढीपहिरोले वितण्डा मच्चाउँदा अर्बौं बराबरको सरकारी तथा निजी सम्पत्ति बगरमा परिणत भयो ।

हिमाल क्षेत्रका हिउँ पग्लिनुले नेपालको पानीको स्रोतमा र पर्यटन व्यवसायमा प्रत्यक्ष असर परिरहेको छ भने नयाँ हिमतालको उत्पत्तिले जोखिम पनि त्यही मात्रामा बढ्दै गएको छ । विश्व तापक्रमको असरले निरन्तर रूपमा हिमाली क्षेत्रमा पारिरहेको असर र मेलम्चीमा देखिएको प्राकृतिक विपत्तिले नेपालका अरू क्षेत्रमा पनि जुनसुकै बेला विपत्ति निम्तिन सक्ने खतरा बढेको छ । हिमाली क्षेत्रको अध्ययनले विगत १९५० को दशकपछि नयाँ हिमताल बन्ने, हिमपहिरो खस्ने, हिमनदी साँघुरिँदै जाने क्रम वृद्धि भइरहेको छ ।

इसिमोडले सन् २०२० मा नेपालको हिमाली क्षेत्रमा गरेको अध्ययनमा कोसी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रका २१ वटा ताल अति जोखिमपूर्ण अवस्थामा रहेको देखाएको छ । यसअघिका अध्ययनले पनि नेपालमा दुई दर्जन जति हिमताल अति जोखिमयुक्त भएको देखाएको थियो तर कतिपय हिमताल बिस्तारै सुक्दै गएका र हराउने क्रम पनि देखिएको थियो ।

पछिल्लो अध्ययनले पुराना १३ वटा तालको अवस्था अझै जोखिमयुक्त नै रहेको र थप आठवटा तालको अवस्था नयाँ स्वरूपमा जोखिमयुक्त देखिएको अध्ययनले देखाएको छ ।
तत्काल यी तालहरूको जोखिम न्यूनीकरण गर्न नसके हिमताल फुट्न सक्ने र तल्लो तटीय क्षेत्रका दर्जनौँ बस्ती, जलविद्युत् आयोजना, बाटोघाटो, पुुलपुलेसालगायतका राष्ट्रिय सम्पत्तिमाथि सधैँ खतरा भइरहने भएकाले तालको जोखिम प्राथमिकीकरण गरी जोखिम न्यूनीकरण गर्नुपर्ने देखिएको छ ।

नेपाल, तिब्बत र भारतको हिमाली क्षेत्रमा गरिएको सो अध्ययनमा तीन हजार ६२४ वटा नयाँ हिमताल निर्माण भएको देखाएको छ । जसमध्ये कोसी नदी जलाधार क्षेत्रमा दुई हजार ६४ वटा ताल, कर्णाली जलाधार क्षेत्रमा एक हजार १२८ वटा ताल र गण्डकी जलाधार क्षेत्रमा ४३२ वटा नयाँ हिमताल निर्माण भएको देखिएका छन् । जति बढी हिमताल उत्पत्ति हुने क्रम बढ्यो, त्यति नै बढी जोखिम पनि बढ्दै गएको इसिमोडका वरिष्ठ जलवायु विज्ञ श्रेष्ठको भनाइ छ । अध्ययनमा नेपालतर्फ प्रत्यक्ष असर पार्न सक्ने ४७ वटा हिमताललाई जोखिमपूर्णको सूचीमा राखिएको छ । जसमध्ये कोसीमा ४२, गण्डकीमा तीन र कर्णालीमा दुईवटा हिमताल छन् ।

इसिमोडका वरिष्ठ जलवायु विज्ञ अरुणभक्त श्रेष्ठका अनुसार पछिल्ला वर्ष हिमाली क्षेत्रमा नयाँ ताल बन्ने क्रम निकै बढी रहेको छ । जसको असर धेरै जसो नेपालमा पर्ने देखिएको छ भने तिब्बत तथा भारतमा पनि केही असर पर्ने विभिन्न अध्ययनले देखाएको छ ।

नेपाल सरकारले ताल फुट्ने स्थिति भइसकेपछि च्छोरोल्पा र इम्जा तालको जोखिम न्यूनीकरण गर्ने कार्य सफल रूपमा गरिसकेको छ । उच्च हिमाली क्षेत्रमा गएर तालको जोखिम न्यूनीकरण गर्नु जस्तो ज्यादै कठिन र खर्चिलो प्रविधिलाई दर्जनौँ हिमताल व्यवस्थापनमा कसरी लगाउने भन्ने चुनौती नेपालका लागि खडा हुँदै आएको छ ।

इम्जा हिमतालको जोखिम न्यूनीकरणका काम सम्पन्न गरेको समुदायमा आधारित हिमताल जोखिम न्यूनीकरण आयोजनाका तत्कालीन आयोजना प्रबन्धक टोपबहादुर खत्रीले भन्नुभयो, “हिमतालको जोखिम न्यूनीकरण शून्यमा झार्न सकिने होइन, जोखिम कम गर्दै जाने हो । जोखिमपूर्ण हिमतालको नियमित अनुगमन र निगरानी गरिरहनुपर्छ ।”

सकभर हिमताल फुट्न नदिने, तालको पानी घटाउने, फुटिहाल्यो भने पनि क्षति कम हुने उपाय अवलम्बन गर्न सकिने धारणा खत्रीले राख्नुभयो । तल्लो तटीय क्षेत्रमा नदी किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानतिर बेलैमा स्थानान्तरण गर्नुपर्ने, बाढीको पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने, तल्लो तटीय क्षेत्रमा विकास गरिने पूर्वाधार बाटोघाटो, पुलपुलेसा बाढीले भत्काउन नसक्ने गरी निर्माण गर्नुपर्ने सुझाव उहाँको छ ।

इम्जा हिमतालको अनुगमन
इम्जा हिमताल फुटन सक्ने खतरा बढेपछि विश्व वातावरण कोषको आर्थिक सहयोगमा नेपाली सेनाले सन् २०१६ मा तालको पानी निकास गरी पानीको सतह घटाउन सफल भएको थियो । सो तालको पछिल्लो अवस्थाबारे प्राविधिकहरूको टोलीले अनुगमन गरेको छ ।
तालको पानीको सतह खासै नबढेको र तालबाट नियमित रूपमा पानी निकास भइरहेको अनुगमन टोलीमा सहभागी सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले तालको अवस्था सामान्य नै छ । पानीको सतह बढेको छैन । तल्लो तटीय क्षेत्रमा जडान गरिएको प्राकृतिक विपत्तिको पूर्वसूचना प्रणाली पनि सुचारु अवस्थामा रहेको छ । च्छोरोल्पापछि नेपालले दोस्रो जोखिमयुक्त रहेको इम्जा हिमतालको जोखिम न्यूनीकरण गरेको हो ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।