२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

शुरु भयो भक्तपुरमा ‘साँपारु’

शुरु भयो भक्तपुरमा ‘साँपारु’
अ अ+ अ-

भक्तपुर । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ ।

भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ ।सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो ।  साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । यहाँ सो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ । पर्वका पूर्वसन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै यहाँ साँपारु पर्व शुरु हुने परम्परा छ । 

यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण पर्वलाई औपचारिकतामा सीमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायले जनाएका छन् ।  यसैका कारण आइतबार साँझ गाईजात्रा घिन्ताङघिसी नाच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ । दरबारस्क्वायरस्थित तलेजु भवानीको साँया (गाईजात्रा) निकालेपछि मात्र सर्वसाधारणले आफ्ना मृतक आफन्तको सम्झनामा साँया निकालिन्छ । सोअनुसार आज बिहान भाले नबास्दै तलेजुको साँया निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । यससँगै दिवङ्गतको आत्माको शान्तिको कामना गर्दै निकाल्ने तहामचा जिल्लामा मनाइने गाईजात्राको अर्को आकर्षण हो । यसैले यहाँ गाईजात्रा हेर्न तथा अवलोकन गर्न उपत्यकाका तीन जिल्लाका साथै आसपासका हजारौँ मानिस आउने गर्दछ ।

धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त लयमा घिन्ताङघिसी नाच करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा बाजाका तालमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । तहामचा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । यसलाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । यसमा मृतकको तस्विरसमेत राखिन्छ । यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ । यसलाई नगरपरिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि विधानअनुसार पूजा गर्ने प्रचलन छ । 

भक्तपुर कै तालाकोस्थित कुमालेले भने मृतक आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराईन्छ । कुमालेको पुख्र्यौली पेशा माटोका भाडा बनाउनु हो । यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराईने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिलासमेत प्रदर्शन गरिन्छ । साथै केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा शृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलनसमेत छ ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास समेत रही आएको छ ।    गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको उहाँले बताउनुभयो । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठको भनाइ छ ।

उहाँ गाईजात्रा नेवार समुदायले लिच्छविकालदेखि नै मनाउँदै आएको दाबी गर्नुहुन्छ । “यो जात्रा प्रताप मल्लले चलाएको भन्ने कुरा सत्य होइन । मल्लहरुका पूर्वज जयस्थिति मल्ल हुन् । जयस्थिति मल्ल प्रतापमल्लभन्दा तीन सय वर्ष अधिका उनका पूर्वज हुन् । जयस्थिति मल्लको पालामा लेखिएको प्रसिद्ध गोपालराजवंशावली ग्रन्थमा साँयात शब्दको उल्लेख छ”, उहाँले भन्नुभयो, “साँ को अर्थ हो गाई र यात को अर्थ हो यात्रा वा जात्रा । यस प्रमाणका आधारमा जयस्थिति मल्लको पालामै गाईजात्रा मनाइन्थ्यो भन्ने कुरा थाहा पाइन्छ ।”

लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्छ भन्ने मान्न सकिने उहाँको भनाइ छ । उहाँले १४ औँ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधारहरु भएको जानकारीदिनुभयो । प्रताप मल्लकी रानी पुत्र वियोगको शोकमा डुबेकाले रानीको मन शान्त पार्न सो बेलादेखि गाईजात्रामा हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न थालिएको हुन् सक्ने संस्कृतिकर्मीको मत रहेको छ ।

भक्तपुरमा साँपारु पर्व तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएकोसंस्कृतिविद् हरिशरण राजोपाध्यायले जानकारीदिनुभयो । “भक्तपुर तन्त्र विद्यायुक्त शहर हो । यहाँका हरेक सांस्कृतिक परम्परा तान्त्रिक विधि पूर्वक मनाइन्छ”, उहाँले भन्नुभयो, “भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ सापारु मनाइन्छ ।”
 
भक्तपुर नगर तन्त्रका आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर यहाँ मृतकको नाममा ताहासाँ, दोसाँ, महादेव पार्वती, बासा लाकेगुलगायत गरी नगरपरिक्रमा गराइने परम्परा रहेको राजोपाध्यायले बताउनुभयो । त्यसका साथै यहाँ राधाकृष्णको प्रतिक नागाचा प्याखं, देवी प्याखं, भैल प्याखं, माकचा प्याखं, लाखे प्याखं, लगायत विभिन्न नाच प्रदशैन गरिन्छ । 

साँपारुको दिन मध्य रातमा तलेजुको ताहासाँले नगर परिक्रमा गरेर साँपारु शुरु गरिन्छ भने अन्तमा महादेव र पार्वतको प्रतीकका रुपमा परालको भैरव र नकीजु अजिमाको ताहासाँ बनाएर महादेवको गणहरुको प्रतीक घिङताघिसी लाने गरेको उहाँले बताउनुभयो । “जात्रा एउटा शिवशक्तिको प्रतीकका रुपमा पनि लिइन्छ । नगर परिक्रमा गर्दा पाइला पाइलामा भएका दैविक शक्तिले मृतकको आत्मा शान्त गराइन्छ । यी सबै काठमाडौँ र पाटनको भन्दा निकै फरक र पृथक छ”, उहाँले भन्नुभयो ।

गाईजात्रा सबै ठाउँमा मृतकको शान्तिका लागि मनाए पनि अन्य स्थानमा तान्त्रिक शक्ति नभएको उहाँले बताउनुभयो । “पाटनमा दशमहाविद्या तन्त्र भएर पनि त्योअनुसारको जात्रा मनाउँदैन । सामाजिक विकासको क्रममा काठमाडौँ पाटनमा त्यो विस्थापित हुँदै गएकाले यहाँको जस्तो नमनाएको हो”, उहाँले भन्नुभयो । कोरोना सङ्क्रमणको जोखिमका कारण यस वर्ष गाईजात्रा पर्व दिउँसो नै समापन गर्ने तयारी भएको भैरव नाइके माइला छुकांले जानकारी दिनुभयो । भक्तपुरमा भैरवनाथको साँया निकालेपछि गाईजात्रा सम्पन्न हुने परम्परा छ । गुठी संस्थान, नगरपालिका र सरोकारवालाको बैठकले यस वर्ष दिउँसो २ बजे नै भैरवको ताहासाँ निकालेर नगर परिक्रमा गर्ने तयारी भएको छुंकाले बताउनुभयो ।
    
भक्तपुरमा यो पर्वका अवसरमा भाद्रकृष्ण अष्टमीसम्म सहरका देवीदेवता दत्तात्रय, भैरव, भीमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी नाच, भैरव नाच, लुसिचा प्याखंलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ तर यस वर्ष कोरोनाका कारण ती नाचको प्रदर्शनलाई स्थगित गरिएको छ ।