• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

प्रकाश हेरेपछि अध्यक्ष लिङदेनले भनेः माइकल अधिकारीका हिरोलाई नै चिनिन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताउनुभएको छ ।

बुधवार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चलचित्रले जनक्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको बताउनुभएको हो । उहाँले चलचित्रमा वर्गीय व्यवस्थालाई प्रोत्साहित गर्न खोजेको कुरा देखाइएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले अहिलेको समाज कस्तो भन्ने कुरा चलिचित्रमा चित्रण गरिएको बताउनु भयो । उहाँले चलचित्र अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्ने रहेको बताउनु भयो । उहाँले राजनीतिमा अहिले भइरहेको विकृतिलाई चित्रण गरेको तर अब राजनीतिक दलहरुले समाजको परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने कुरा नदेखाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रकाश फिल्मले जे सन्देश दिन खोजिरहेको छ,, वर्तमान राज्य व्यवस्थाले नजानिदो तरिकाबाट वर्गीय व्यवस्थालाई प्रोत्साहित गरिरहेको छ, त्यसलाई उठाइरहेको मान्छे हुँ । त्यो कुरा प्रकाश फिल्मले उठाइरहेको छ । यो फिल्मले अहिलेको समाज कस्तो छ ? त्यसलाई चित्रण गर्न सफल भएको छ, यो फिल्म अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्छ । राज्यले जनतालाई दिने सेवा, सुविधा जातको आधारमा नभइ वर्गको आधारमा हुनुपर्छ । चलचित्रले जनक्रान्तिको नाममा कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको छ । फिल्मले समग्र नेपाली राजनीतिमा भएको विकृतिलाई देखाएको छ । अहिलेका विकृति देखाएको छ तर अब के हुनुपर्छ भन्नेकुरा चलचित्रले भनेको छैन ।’

अध्यक्ष लिङदेनले केही दिनअघि मात्रै प्रदर्शनमा आएको चलचित्र माइकल अधिकारी हेर्न जाँदा अभिनेतालाई नै नचिनेको बताउनु भयो । चलचित्रमा अभिनय राम्रो लागेको तर बाहिर निस्किएर फोटो खिच्दासमेत सिनेमामा भएको अभिनेता सौगात मल्ल यही हो भनेर छुट्याउन नसकेको भन्दै उहाँले भन्नुभयो, ‘मैले माइकल अधिकारी हेरेको थिएँ, हिरोसँगै बसेर फोटो खिचेछु, मलाई सौगात मल्ल को हो नै थाहा भएन । कस्तो राम्रो कलाकार भन्ने भयो, बाहिर देख्दा थाहा नै भएन ।’

नेपाली चलचित्र प्रकाश गत शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो । शुरुवाती दिनमा चलचित्रले शो नपाएपछि निर्माण र कलाकार टिमले पत्रकार सम्मेलन गर्दै सिनेमा घरहरुले शो नदिएको भन्दै दुखेसो गरेको थिए । अभिनेता प्रदीप खड्का स्वयंले नै दर्शकको माग अनुसार शो नपाएको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरेका थिए ।

दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ ।  दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दीया मास्केको मुख्य भुमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको संघर्ष र मेहनतमा आधारित छ । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो ।