२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप
अ अ+ अ-

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी दिनुभयो । नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको उहाँको भनाइ छ ।

तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन् । हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन् । उक्त जेलमा १६ नाबालकसमेत छन् । कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताउनुभयो ।  

काठमाडौँको डिल्लीबजारमा समेत अर्को जेल रहेका कारण महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा छ ।

कूल ३० शय्या क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ । अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । बयालीस रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रीय कारागारमा एक हजार ७८४ कैदी र एक हजार ४३१ बन्दी छन् । 

कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई÷दुई कारागार छन् । भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रसमेत सञ्चालनमा छन् ।

हाल देशभर झण्डै ३० हजार कैदीबन्दी छन् । देशभर कारागारको क्षमता भने १६ हजार मात्र हो । पछिल्लो समय देशभर कैदीबन्दीको सङ्ख्या बढेसँगै सरकार नुवाकोट र बाँकेमा कारागार निर्माणमा जुटेको छ । दश हजार कैदीबन्दी राख्ने क्षमताका साथ निर्माण गर्न लागिएको नुवाकोटमा ५३५ रोपनी र बाँकेमा १० बिघा जग्गा लिएर कारागार निर्माणको काम अगाडि बढाइएको छ । नुवाकोटमा सात हजार ५०० र बाँकेमा तीन हजार कैदीबन्दी राख्न मिल्ने कारागार व्यवस्थापन विभागले जनाएको छ ।

सरकारले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा निर्माण हुँदै गरेको कारागारमा सार्ने गरी गृहकार्यसमेत सुरु गरेको छ । केन्द्रीय कारागारका जेलर अधिकारीले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोट स्थानान्तरण गर्नका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, प्रमुख जिल्ला अधिकारी नुवाकोट र सुरक्षा निकायका प्रतिनिधि भवन निर्माणबारे अध्ययन, अवलोकन गरेर काठमाडौँ फर्किसकेको बताउनुभयो ।

सम्भाव्यता अध्ययनका क्रममा चाँडै कारागार भवन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको उहाँको भनाइ थियो । केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा स्थानान्तरण गरेसँगै उक्त स्थानलाई ‘म्युजियम’ बनाउने सरकारले लक्ष्य लिएको छ ।