१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बेन्जेमा चम्किँदा रियल विजयी, बार्सिलोनाको सानदार जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले इस्पान्योललाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे । इस्पान्योलका जोसेलुले एक गोल फर्काए ।

रियलले खेलको शुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राख्दै १२औं मिनेटमा गोल गर्न सफल भएको थियो । जुनियरले औरेलिएन चुआमेनीको पासमा गोल गरे । ४३औं मिनेटमा जोसेलुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । उनलाई रोड्रिगोले पास उपलब्ध गराएका थिए ।

इन्जुरी समयको थप गरिएको छैटौं मिनेटमा घरेलु टोली इस्पान्योल १० खेलाडीमा समेटिन पुग्यो । ड्यानियल सेवालोसलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै गोलरक्षक बेन्जामिन लिकोम्टेलाई सिधै रातो कार्ड दिएका थिए । त्यसमै प्राप्त फ्रिकिकमा बेन्जेमाले उत्कृष्ट गोल गरे ।

जितसँगै रियल ३ खेलमा ३ जितसहित नौ अंकका साथ शीर्षस्थानमा रहेको छ । उता, १ अंकसहित इस्पान्योल १६ औं स्थानमा छ ।

यस्तै आइतबार राति नै भएको अर्को खेलमा क्याटलान क्लब बार्सिलोनाले सहज जित निकालेको छ । बार्सिलोनाले भाल्लाडोलिडलाई ४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्री र सर्जि रोबर्टोले एक–एक गोल गरे ।

खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । उनले राफिन्हाको पासमा गोल गरेका हुन् । ४३औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनलाई ओस्माने डेम्बेलेले पास उपलब्ध गराएका थिए ।

६४औं मिनेटमा लेवान्डोस्कीले डेम्बेलेक पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।

बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भाल्लाडोलिड १ अंक जोडेर १९औं स्थानमा रहेको छ ।