• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस

प्रिमियर लिगः म्यान्चेस्टर सिटी, युनाइटेड, आर्सनल, लिभरपुल र चेल्सी विजयी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले पुनरागमन जित निकालेको छ । पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा चार गोल गर्दै सानदार कमब्याक गरेको हो ।

सिटीको घरेलु मैदान इतिहादमा शनिबार राति भएको खेलमा सिटीलाई ४–२ गोलको जित दिलाउन एर्लिङ हालाण्डले ह्याट्रिक गरे भने एक गोल बर्नार्डो सिल्भाले गरे ।

क्रिस्टल प्यालेसका जोआचिम एन्डरसनको गोल सान्त्वना बन्यो । प्यालेसले एक गोल उपहार पाएको थियो । सिटीका जोन स्टोनले आत्मघाती गोल गरे ।

चौथो मिनेटमा जोन स्टोन्सको आत्मघाती गोलबाट घरेलु टोली सिटी खेलमा पछि परेको थियो । २१औं मिनेटमा जोआचिम एन्डरसनले गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले पछि परेको थियो ।

तर, दोस्रो हाफमा सिटीले सानदार कमब्याक गर्यो । ५३औं मिनेटमा बर्नाडो सिल्भाले रोड्रीको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काए । ६२औं मिनेटमा फिल फोडेनको पासमा हालाण्डले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याए ।

७०औं मिनेटमा जोन स्टोन्सको पासमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई खेलमा ३–२ को अग्रता दिलाए । ८१औं मिनेटमा इल्काए गुन्डोवानको पासमा हालाण्डले ह्याट्रिक पूरा गरेपछि सिटी ४–२ गोलले विजयी बन्यो ।

यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटी आएका हालाण्डको यो प्रिमियर लिगमा पहिलो ह्याट्रिक समेत हो ।

जितसँगै सिटी चार खेलमा १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेल खेलेको प्यालेस ४ अंकसहित १३ औं स्थानमा छ ।

बर्नमाउथको पोस्टमा लिभरपुलले हान्यो ९ गोल

शनिबार राति सम्पन्न अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० को फराकिलो गोलले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाज र रोबर्टो फिर्मिनोले दुई–दुई गोल गरे भने हार्वी एलिअट, अलेक्जान्डर आर्नल्ड, भान डाएक, फाविओ कार्भाल्होले एक–एक गोल गरे । बर्नमाउथका क्रिस मेफामले आत्मघाती गोल गर्दा लिभरपुलले एक गोल उपहारस्वरुप पायो ।

जितसँगै लिभरपुल चार खेलबाट ५ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ । समान खेल खेलेको बर्नमाउथ ३ अंकसहित १६ औं स्थानमा छ ।

आर्सनलको लगातार चौंथो जित


प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति सम्पन्न खेलमा फलहमविरुद्ध आर्सनलले २–१ गोलको जित निकालेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको ५६ औं मिनेटमा फुलहमका एलेक्सान्डर मित्रोभिचले गोल गरेपछि आर्सनल सुरुवाती पछि परेको थियो । आर्सनलका डिफेन्डर गाब्रियल मेगाल्हेसले डि–बक्सभित्र गल्ती गरेपछि मित्रोभिचले गोल गरेका हुन् ।

६४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । तर, ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।

जारी सिजनमा अपराजित रहेको आर्सनले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा कायम छ । समान खेल खेलेको फुलहम ५ अंकसहित ११ औं स्थानमा छ ।

चेल्सीले लेस्टर सिटीलाई हरायो


यस्तै अर्को खेलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति नै भएको खेलमा १० खेलाडीमा सिमित चेल्सीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको हो ।

चेल्सीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बान्र्सले एक गोल फर्काए ।

खेलको २८ औं मिनेटमा कोनोर गल्लाघेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

तर, खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए ।

त्यसपछि ६६ औं मिनेटमा बान्र्सले गोल गरेपनि लेस्टरको हार टार्न सकेनन् ।

जितसँगै ४ खेलमा ७ अंक जोड्दै चेल्सी छैटौं स्थानमा रहेको छ । समान खेल खेलेको लेस्टर १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

युनाइटेडले साउथह्याम्प्टनलाई हरायो


म्यानचेस्टर युनाईटेडले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेल युनाईटेडले साउथह्याम्पटनलाई १–० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे । खेलको ५५ औं मिनेटमा डालोटको पासमा उनले गोल गरेका हुन् ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा रहेको छ । साउथह्याम्प्टन ४ अंकका साथ १४ औं स्थानमा छ ।