२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ: प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

“राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गर्नुभएको थियो, उहाँले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामीजस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो, समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो”, नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको विश्वास छ ।

सम्मानित व्यक्तित्व दाहालले नेपालको लोकतन्त्र तलाउ र कुवाको बीचमा रहेको चर्चा गर्नुहुँदै आगामी निर्वाचनबाट लोकतन्त्रको उद्धारका लागि देउवा नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । समाज लोकतान्त्रिक मूल्यमान्यताकै रक्षाका लागि खडा भएकाले यसको दायित्व वर्तमान परिस्थितिमा अझ बढेको उहाँले सुनाउनुभयो ।

पूर्वमन्त्री एवं नेपाली कांगे्रसका नेता डा सुरेश मल्लले प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोज्ने प्रवृत्तिका विरुद्ध आवाज उठाउनकै निम्ति समाजको स्थापना भएको स्मरण गर्नुभयो । प्रजातन्त्रको रक्षा र सम्वद्र्धनका लागि समाजको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पत्रकारिताका माध्यमबाट दाहाल र राजनीतिका माध्यमबाट चित्रकारले प्रजातन्त्र पुनःस्थापनाका लागि गरेको योगदान भावी पुस्ताले पनि सम्झने बताउनुभयो । लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन कठिन दिनमा योगदान गर्ने दाहाल र चित्रकारजस्ता सयौँ योद्धाको अभिलेख कांग्रेसले राख्नुपर्ने उहाँको माग थियो ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले लोकतन्त्रमाथिको हस्तक्षेप रोक्न बुद्धिजीवी वर्गको संस्थाका रुपमा समाजको स्थापना भएको स्मरण गर्नुहुँदै हाल ७२ जिल्लामा यसको जिल्ला शाखा क्रियाशील रहेको जानकारी गराउनुभयो ।

विसं २०५२ मा स्थापना भएको समाजको भदौ २४ गते विराटनगरमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारीसमेत उहाँले गराउनुभयो । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले लोकतान्त्रिक मूल्यमान्यताका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चाल्नुहुने हरेक कदममा संस्थाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

चित्रकार नेपाल तरुण दलका संस्थापक महासचिवका साथै विसं २०१४ को भद्र अवज्ञा आन्दोलनदेखिका हरेक राजनीतिक परिवर्तनमा सक्रिय रहँदै आउनुभएको छ । हाल स्वास्थ्य अवस्थाका कारण उहाँ सम्मान कार्यक्रममा उपस्थित हुन सक्नुभएन । उहाँको सम्मान श्रीमती गङ्गा चित्रकारले ग्रहण गर्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनाका लागि पटकपटक गरी चित्रकारले छ वर्षसम्म जेल जीवन बिताउनुभएको छ ।

चित्रकारले पुर्याउनुभएको यही योगदानको कदर गर्दै ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित उहाँलाई सम्मान गरिएको थियो । चित्रकारलाई समाजले विसं २०७८ को पुरस्कार प्रदान गरेको हो । गत वर्ष कोरोना महामारीका कारण पुरस्कार प्रदान गर्न नसकिएको जनाइएको छ ।

यसैगरी वरिष्ठ पत्रकार होमनाथ दाहाललाई विसं २०७९ को सम्मान प्रदान गरिएको हो । पत्रकारिताका माध्यमबाट लोकतान्त्रिक आन्दोलन एवं नेपाली भाषा, साहित्यको सम्वद्र्धनका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । पञ्चायतकालमा दमित आवाजलाई पत्रकारिताका माध्यमबाट बाहिर ल्याउन दाहालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो ।

दाहाललाई पनि ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित सम्मानित गरिएको थियो । दुवैजनाले पुर्याउनुभएको योगदानका बारेमा समाजका उपाध्यक्ष ईश्वरीराज लौडारी, महासचिव गोकर्ण अर्याल र सचिव वासुदेव भण्डारीले चर्चा गर्नुभएको थियो ।