• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री ★   धानबालीमा फेद कुहिने समस्या ★   चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए ★   म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र ★   हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल ★   विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग ★   सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी ★   डेङ्गीका बिरामी बढेपछि सङ्खुवासभाका अस्पतालमा शय्या अभाव ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी ★   पेरिस ओलम्पिक: खेल बराबरमा सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित

सरकारसँग प्रतिपक्षको असन्तुष्टि, मुलुकमा प्रतिपक्ष पनि छ (भिडियो)



file

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचनमा सत्ताको दुरुपयोग हुनसक्ने भन्दै आशंका व्यक्त गर्नुभएको हो ।

भेटका क्रममा अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढंगले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले ओलीले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै अन्यथा भएमा एमाले कडारुपमा प्रतिवादमा उत्रिने चेतावनी दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रको आत्मा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हो । गठबन्धन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित निर्वाचन सम्पन्न गर्छ भन्ने कुरामा विश्वास गर्न सकिने स्थिति छैन । निकट विगतमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ताको ज्यादती सर्वत्र देखिएकै हो । आगामी निर्वाचनमा पनि सत्ताको दुरुपयोग हुनसक्ने त्यो आशंका गर्ने आधारहरु छन् । त्यसले गर्दा हामीले मुख्यरुपले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित निर्वाचन सम्पन्न हुनुपर्छ र यो निर्वाचनमा दलहरुका बीचमा, आस्थाहरुका बीचमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । यस प्रश्नमा कहीँनिर पनि अन्यथा भयो भने नेकपा ९एमाले० कडा प्रतिवादमा उत्रिन्छ, लोकतन्त्रका रक्षाका निम्ति र स्वतन्त्र निर्वाचनको रक्षाका निम्ति एमाले कडा प्रतिवादमा उत्रिन्छ भनेर चेतावनी गरेका छौँ ।”

एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्री देउवाका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्थ्यो ।

भेटवार्ताका क्रममा एमालेले सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको तस्तै पुनः राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिले संविधानसम्मत रुपले पुनर्विचारका लागि फिर्ता पठाएको भए पनि पुनः प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गर्नुले राष्ट्रपतिको अपमान भएको भन्दै एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

उहाँले भन्नुभयो, “‘नागरिकता विधेयकको विषयमा सत्तारुढ गठबन्धनले राष्ट्रिय हितलाई तिलाञ्जली दिएको छ । यो अत्यन्त यति गम्भीर विषयमा प्रतिपक्षलाई समेत बेवास्ता गरेर, आम नागरिकहरुको सरोकारलाई बेवास्ता गरेर, सर्वोपरी रुपमा राष्ट्रको हितलाई तिलाञ्जली दिएर, बलजफ्ती जुन ढंगले नागरिकता विधेयक पास गरिएको छ । त्यसप्रति हाम्रो गम्भिर आपत्ति हो । राष्ट्रपतिज्यूले संविधानसम्मत ढंगले पुनर्विचार गर्नका निम्ति पठाइसकेपछि सत्तारुढ दलका नेताहरुले संसद्भन्दा बाहिर रहेका नेताहरुले समेत एक ठाउँमा बसेर जुन ढंगको मसल प्रदर्शन उहाँले गर्नुभयो, संसद् भवनभन्दा बाहिर गैर सांसदहरु समेत बसेर राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्ने, हुबहु पास गर्ने भनेर संसद्बाहिर जे जस्तो हर्कत प्रस्तुत गरियो, राष्ट्रपतिलाई अपमान गर्ने काम गरिएको छ । यो गम्भीर विषय हो । यो कन्टेन्टको दृष्टिले राष्ट्रहित विपरीत छ । राष्ट्रपतिले संविधानसम्मत ढंगले जाहेर गर्नुभएको सरोकारलाई पनि यसले उपेक्षा गरेको छ र राष्ट्रपतिप्रति अनादर गरेको छ । यो अत्यन्त गम्भीर, घातक र चिन्ताजनक विषय हो भनेर यो कुरा राख्यौँ ।”

त्यस्तै सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रति पनि एमालेले विरोध जनाएको छ ।

सरकारले द्वन्द्वकालमा अन्यायमा परेकालाई न्याय नदिने गरी विधेयक ल्याएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ । गठबन्धन सरकारले अन्यायलाई अनुमोदन गर्न खोजेको एमाले उपाध्यक्ष पौडेलको भनाइ छ । प्रधानमन्त्री देउवासमक्ष पीडितलाई न्याय दिनका लागि कुरा राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सत्य निरुपण तथा मेलमिलाप आयोग र टिआरसी सम्बन्धी विधेयकहरुका बारेमा जुन खालको छलफल चलिरहेको छ । जसरी सरकार अगाडि बढ्न खोजिरहेको छ । हामीलाई गम्भीर आशंका छ । द्वन्द्वकालमा भिक्टिम भएकाहरु, अन्यायमा परेकाहरुलाई न्याय दिने होइन कि त्यो अन्यायलाई अनुमोदन गर्ने ढाँचामा यो सत्तारुढ गठबन्धन आउन खोजेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । भिक्टिमहरुलाई न्याय दिनुपर्छ र उनीहरुलाई अरु थप भिक्टिम गर्ने अधिकार कसैलाई छैन भन्ने कोणबाट हामीले राखेका छौँ ।”

त्यसैगरी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा एमाले नेताहरुले देशमा अनियमितता, भ्रष्टाचार र महंगी बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गर्नुभएको छ । भेटवार्तामा उठाइएको कुराहरुलाई सरकारले सम्बोधन गर्न नसकेमा एमाले सशक्त प्रतिवादमा उत्रिने एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सत्ताको चरम दुरुपयोग, ज्यादती, अधिक प्रकारका अनियमितताहरु, भ्रष्टाचारहरु र महंगीको अवस्था यो गठबन्धनले सिर्जना गरेको छ । यसप्रति सरकार बेखबर छ । कुनै मतलव नै छैन । त्यसकारणले महंगीलगायतका बेथितिहरु नियन्त्रण गर्नका निम्ति प्रभावकारी कदम चालियोस् । हामीले उठाएका विषयमा सरकारले ध्यान दिँदैन, त्यसप्रति उसले यथोचित ढंगले कदम चाल्न तयार हुँदैन भनेदेखि संसद्को सबैभन्दा ठूलो दल, राष्ट्रिय राजनीतिको सबैभन्दा ठूलो दल एमाले सशक्त ढंगले प्रतिवादमा उत्रिन्छ । सरकारको यो ज्यादतीलाई हामी सहन सक्दैनौँ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौँ ।”

प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलले उठाएको कुराप्रति आफू सकारात्मक भएको र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले आफूहरु नतिजाको पर्खाइमा रहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष पौडेलले सरकारको एक वर्ष असफलताको वर्ष भएको र राष्ट्रको एक वर्षको समय बर्बाद भएको टिप्पणी पनि गर्नुभयो ।