२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन फेरि सक्रिय : अधिक भारी वर्षाका कारण बाढी र पहिरोको खतरा बढ्यो



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पुनः मनसुन सक्रिय भएको जनाएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो ।

महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको छ । विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको छ । 

यस्तै, पहाडका केही भूभागमा पनि भदौरे झरीसहितको भारी वर्षा हुने सम्भावना छ । त्यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सतर्क रहन भनिएको छ । गण्डकी, बागमती तथा सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षाको आकलन गरिएको छ ।

केही दिनयताको मनसुनी सक्रियताले देशका धेरै स्थानमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भदौरे झरीका कारण कोसी, नारायणीलगायतका ठूला तथा साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । त्यस्तै पहाड हुँदै बग्ने कर्णाली, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतका नदीको बहाव पनि सतर्कता तहभन्दा माथि हुने जनाइएको छ । 

तराई छोएका कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, राप्ती, बबईलगायतका ठूला नदीमा बहाव बढ्दा त्यहाँका बस्ती डुबानमा पर्ने सम्भावना रहेको औँल्याइएको छ ।