९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

असल समाजको सपना देख्ने प्रदीप गिरी

असल समाजको सपना देख्ने प्रदीप गिरी
अ अ+ अ-

काठमाडौँ । मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा हुनुहुन्थ्यो । यति हो कि, हाम्रो सोचाइमा उहाँको महाप्रस्थानको समय भएको थिएन । काललाई कसैले छल्न सक्दैन । प्रदीप गिरिले पनि त्यसलाई छल्न सक्नु भएन ।

अहिलेको जटिल राजनीतिक परिस्थितिमा प्रदीप गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । यो अस्वाभाविक होइन । आजको राजनीतिक परिदृश्यमा प्रदीप गिरि सर्वपक्षीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो । सबै दलका सदस्यहरु उहाँका कुरा सुन्दथे । उहाँका तर्कहरुको मनन् गर्दथे । उहाँका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । उहाँमा रहेको व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभावका कारण राजनीतिमा लाग्ने मानिसमा उहाँको ठूलो आकर्षण थियो । प्रतिनिधिसभा पटलमा अभिव्यक्त उहाँका विचारहरु सर्वदलीय आकर्षणका विषय हुन्थे । प्रदीप गिरिका विचार ओजस्वी त हुन्थे नै, सामाजिक हिसाबले पनि सन्तुलित हुन्थे । आफना विचारले समाजका सबै वर्ग र पक्षका मानिसलाई वशिभूत गर्नु सामान्य कुरा थिएन ।

देशका प्रतिष्ठित वरिष्ठ चिकित्सक मधु घिमिरे भन्छन्, ‘‘मैले धेरै राजनीतिज्ञलाई जाँच गर्ने र हेर्ने मौका पाएको छु । प्रदीप गिरिको पकड नीतिमाथि रहेको छ । नीतिको कुरामा उनी गहिराइमा पुगेका छन् । उनी आजका भ्रष्ट चरित्रको राजनीतिबाट अलग छन् । उनले पदको मोह अँगालेका छैनन् । पदको होडबाजीले राजनीतिलाई दूषित पार्दछ । पदको मोह त्याग नगरेसम्म राजनीति चोखो रहन सक्दैन भन्ने मान्यता राख्दथे प्रदीप गिरि ।’’

धेरैजसो वुद्धिजीवीहरु प्रदीप गिरिलाई बीपीपछिको सबैभन्दा प्रभावशाली मार्गदर्शकका रुपमा लिन्छन् । आजको राजनीतिको मुख्य समस्या भनेको यसमा नैतिक तत्वको अतिशय अभाव हो । अधिकारको दुरुपयोग तीब्र गतिमा आकासिएको छ । आदर्शका प्रारुप खजमजिएका छन् । परस्परमा अहङ्कारको लडाइँ चलिरहेको छ । राजनीतिमा लागेका मानिसले विनयशीलता गुमाउँदै गएका छन् । राजनीतिज्ञहरु असल कुराका पक्षमा आपूmलाई उभ्याउन चाहँदैनन् । व्यक्तिगत स्वार्थको पोषणका लागि जस्तोसुकै गलत सम्झौता गर्न पनि पछि पर्दैनन् ।

राजनीतिक दलका सदस्य र नेताहरु प्रदीप गिरिजस्ता मानिसको महिमा गाउन चुक्दैनन् । तर, उनीहरुले देखाएको बाटोमा हिंडन चाहदैनन् । किनभने सत्यको बाटो कठोर हुन्छ । सत्यको बाटो हिंडन चाहने मानिसले धेरै दुर्गम अवस्था भोग्नुपर्ने हुन्छ । उसका परिवारले दुःख पाउँछन् । सामाजिक उत्थानका लागि दुःख पाउने व्यक्तिको प्रशंसा होइन, जग हँसाइ हुन्छ ।

यो पंक्तिकार प्रदीप गिरिको सङ्गतमा आउँदा भर्खर १४ वर्षमा पाइला टेकेको थियो । त्यसपछिको यो लामो समयमा मैले प्रदीप गिरिको विचार र व्यक्तित्व समान पाएको छु । हो, उहाँका विचारहरु प्रखर भएका छन् । व्यक्तित्वमा निखार आएको छ र आवाजमा आधिकारिकता थपिएको छ । तर, उहाँको स्वप्नजीवी स्वभावमा कहिल्यै परिवर्तन आएन । उहाँले जस्तोसुकै खराव समयमा पनि असल समाजको सपना देख्नुभयो । परिवर्तनको अवश्यम्भावितामा उहाँको गहिरो विश्वास थियो । युवा शक्तिमा जागरण ल्याउन उहाँले थुप्रै काम गर्नु भएको छ । उहाँका योगदानका परिणामहरु छिटै देख्न पाइने आशा गरौं ।

प्रदीप गिरि बीपी कोइरालासँग त निकट हुनुहुन्थ्यो नै । उहाँको सम्बन्ध शहीद सरोजप्रसाद कोइरालासँग पनि प्रगाढ थियो । निर्दलीय पञ्चायत व्यवस्थाका गुण्डाहरु भारत भूमिमा पसेर कोइरालाको हत्या गरे । त्यो घटनाले प्रदीप गिरिलाई अत्यन्त बिह्वल बनायो । त्यतिखेर उहाँ बनारसमा अध्ययन गर्दै हुनुहुन्थ्यो । त्यो घटनापछि उहाँको जीवनमा नयाँ मोड आयो । तैपनि, उहाँले आफनो अध्ययन प्रक्रियालाई निरन्तरता दिनुभयो । जनमत सङ्ग्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिनुभयो । बीपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिनुभयो ।

प्रदीप गिरि अब हाम्रा बीच हुनुहुन्न । उहाँ समानको कुनै अर्को पथ–प्रदर्शक पनि नभमा देखिएको छैन । समाजमा प्रतिदिन विकार फैलिएको छ । उहाँले राजनीतिमा धकेलेर अघि बढाएका थुप्रै व्यक्तित्वहरु नभएका होइनन् । तीमध्ये धेरै ओझेलमा परेका छन् । प्रदीप गिरिले बोक्नु भएको लोकतान्त्रिक समाजवादको मसाल कसैले न कसैले, ढिलो–चाँडो बोक्न त बोकी हाल्नेछन् तर समय घर्किदैछ । परिवर्तनका लागि अरु कति पुस्ता पर्खिनु पर्ने हो ? प्रश्न गम्भीर छ । रासस