३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 4.12

Humidity: 31

Latest
फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड नाईट क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु हत्या गरेको अभियोगमा पक्राउ निजीकरण विधेयक सार्वजनिक संस्थानहरुलाई कौडिको भाउमा बेच्न ल्याइएको होइनः अर्थमन्त्री पौडेल ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान ! चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा ‘भ्यूटावर ’को भएन संरक्षण



अ+ अ-

गलकोट । बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको ‘भ्यूटावर’को संरक्षण नहुँदा क्षति पुगेको छ । बागलुङ नगरपालिका–१० स्थित भ्यूटावर विसं २०७६ मा निर्माण सम्पन्न भएको थियो ।

करिब रु एक करोड बराबरको लागतमा निर्माण गरिएको भ्यूटावरको संरक्षण नहुँदा कुरुप देखिँदै गएको छ । भ्यूटावरको चौथो तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको छ भने विद्युतीय सामग्रीसमेत तोडफोड गरिएको पाइएको छ ।

भ्यूटावर संरक्षणमा सरोकारवालाले चासो नदिँदा त्यसका संरचना विस्तारै बिग्रँदै गएका हुन् । भ्यूटावरमा प्रयोग गरिएको विद्युत्का केही सामग्री चोरी भएको, विद्युत्का तार छुटाइएको छ भने सिसा र आल्मुनियमको झ्याल फुटाइएको पाइएको दृश्यावलोकनका लागि पुग्नुभएको सङ्गम घर्तीले बताउनुभयो ।

निर्माण सुरु गरिएको सात वर्षमा सम्पन्न भएको भ्यूटावर सौन्र्दयीकरणका लागि दुई वर्ष अगाडि चौथो तलामा बागलुङ नगरपालिकाले रु १० लाखको लागतमा लगाइएको सिसाको पूर्वपट्टीको भाग पूरै फुटाइएको अन्य भागको सिसामा प्वाल परेको र चर्केको छ । पछिल्लो समय बागलुङ–१० भकुण्डेस्थित मूलाबारी भ्यूटावर पर्यटकका लागि रोजाइमा पर्न थाले पनि भ्यूटावरको संरचनामा क्षति भएको र यो विषयमा नगरपालिकालाई जानकारी गराएको बागलुङ–१० का वडाध्यक्ष तीलबहादुर थापाले जानकारी दिनुभयो ।

“भ्यूटावर गाउँभन्दा माथि जङ्गलको बीचमा छ, सुरक्षाको लागि तारबारसमेत गरेर बलेवा र भकुण्डे क्षेत्रमा गेटसमेत निर्माण गरिएको थियो, भने भ्यूटावरमा हेरालुसमेत राखिएको थियो”, उहाँले भन्नुभयो, “अहिले हेरालुले प्रवेश शुल्कद्वारा सङ्कलन गरिएको रकम कोरोनाका कारण कमी आएको भन्दै छोडेर गएछन्, अहिले सुरक्षा गर्ने कोही छैन, दुई स्वागत बोर्डसमेत पल्टिएको छ, नगरपालिकामा मर्मतका लागि भनेको छु भने सुरक्षाका लागि प्रहरी खटाउन पहल गरिरहेको छु ।”

पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको भए पनि भ्यूटावरको पर्खालमा जथाभावी शब्द लेख्ने कार्यले त्यहाँ पुगेका पर्यटकलाई समस्या भएको गुनासो छ ।

विषेशगरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह ताल, मगर संस्कृति, सङ्ग्रहालय, मनोरम दृश्य तथा घरबासको आतिथ्यताका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् भने बिहानै उठेर दृश्य अवलोकनका लागि गाउँमाथिको डाँडामा रहेको भ्यूटावर पुग्ने गरेका छन् ।

बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे ।

भ्यूटावर छेउमै बनेको खरको कटेज अहिले भग्नावशेष अवस्थामा छन् भने रेष्टुराँ खोल्नलाई बनाइएको जस्ताको छाप्रोसमेत भत्किएको छ । अहिले जेसिज बागलुङले बनाएको स्वागत बोर्डसमेत भुइँमा ढलेको छ ।

भकुण्डे भ्यूटावरको संरचनामा क्षति पुगेका विषयमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अनुगमनसमेत गर्नुभएको बागलुङ नगरपालिकाले जनाएको छ । भ्यूटावर संरक्षणमा स्थानीयको सक्रियता हुँन आवश्यक देखिए पनि नगरपालिकाले भ्यूटारको मर्मतसम्भार गर्ने नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।

“हामीले संरचना बनाउने हो संरक्षणको जिम्मा स्थानीयकै हुन्छ, संरचनामा क्षति पुगेको अनुगमनका क्रममा पाइयो, हामीले मर्मतसम्भार गरेर पुनःस्थानीयलाई सुरक्षा गर्न भन्नेछौँ”, उहाँले भन्नुभयो, “राज्यले करोड खर्चेर बनाएको संरचना विग्रँन हुँदैन, त्यहाँ पुग्ने केही पदमार्गसमेत मर्मत गर्न आवश्यक देखिएको छ, हामीले त्यो काम गर्ने र पुनःभ्यूटावरलाई पुरानै अवस्थामा फर्काइनेछौँ ।”

भकुण्डेमा पर्यटकको आगमन बढ्न थालेपछि तत्कालीन संविधानसभा सदस्य नरबहादुर थापाको पहलमा भ्यूटावर निर्माण थालिएको थियो । तत्कालीन जिल्ला विकास समिति, संसद् विकास कोषमा बनेको भ्यूटावरको अन्तिम रुप बागलुङ नगरपालिकाले तयार गरेको थियो । भ्यूटावरमा पुग्नका लागि रेलिङसहितको पदमार्ग, खानेपानी, शौचालयलगायतका पूर्वाधार निर्माण भए पनि पानीको अभावमा खानेपानीको ट्याङ्की र धारोसमेत प्रयोगविहीन बनेको छ ।

भारतको दाजर्लिङ तथा पोखराको सराङ्कोटबाट देखिने सूर्योदयको विकल्प भकुण्डेको भ्यूटावरबाट देखिने सूर्योदय हुनसक्ने भकुण्डे पुग्ने पर्यटकले बताएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको पैदल तथा समुन्द्री सतहदेखि दुई हजार एकसय ५० मिटरको उचाइमा चारतले पक्की भ्यूटावर रहेको छ ।