• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

रेणुका साहको मुद्दाको आज सुनुवाइ हुँदै



काठमाडौँ । योग्यता नपुगेको भन्दै पदबाट बर्खास्तीमा पर्नुभएकी उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहको रिटमाथिको सुनुवाइ आज हुँदैछ ।

न्यायपरिषद्को गत असार २४ गते बसेको बैठकले न्यायाधीश साहलाई योग्यता नपुगेको उल्लेख गर्दै बर्खास्त गर्ने निर्णय गरेको थियो । धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा साहले रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुँदैछ ।

उहाँले रिट निवेदनमा न्यायपरिषद्ले एक पटक कसैलाई योग्य ठानी न्यायाधीश नियुक्तिको सिफारिश गरिसकेपछि निजको योग्यता सम्बन्धमा स्वयं परिषद्ले उजुरी लिन नियमावलीको व्यवस्था प्रतिकूल हुने दाबी गर्नुभएको छ ।

सर्वोच्चले साहको मुद्दामा सक्कल फाइल झिकाउने आदेश दिएको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन २३ गते साहलाई नियुक्ति दिने समयमा भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश गरेको हो ।

आदेशमा अधिवक्ता सल्लु तिवारीविरुद्ध न्यायपरिषद्को मुद्दामा सर्वोच्चबाट २०७६ जेठ २६ मा निर्णय भएको निवेदनको सक्कल मिसिल अदालतको अभिलेखबाट झिकाउनसमेत भनिएको छ ।