१८ असार २०८३, बिहीबार
,
Latest
नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्’



अ+ अ-

बाग्लुङ । केही दिनअघि यहाँका युवा व्यवसायी सुवास श्रेष्ठले फेसबुकमा लेखेको ‘पोष्ट’ले धेरैको ध्यान खिचेको हुनुपर्छ । सर्रर हेर्दा सामान्यझैँ लागे पनि अन्त्यसम्म पढ्दा स्तब्ध पार्ने खालको छ ।

उहाँले लेख्नुभएको छ, “भोलिका दिनमा हामीजस्ता व्यवसायीको केही गरी देह त्याग भएमा कोरोनाले लग्यो रे भनेर झूठो समाचार नबनाइदिनू, त्यो हजूरहरुले बनाएको नियम पालना गर्दा र व्यवसायमा भएको भेदभावका कारण हुन सक्छ ।” उहाँ अघि थप्नुहुन्छ, “१७ महिना भइसक्यो, अझै कहिलेसम्म थेग्ने, भाडा, बैंकको ब्याज, बिजुली, पानी, आय कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्, सारै अटसमटस र उकुसमुकुस भइसक्यो ।”

व्यवसायी श्रेष्ठको सो ‘पोष्ट’ जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले १५ दिन लामो निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेकै साँझ सार्वजनिक भएको थियो । अन्य व्यवसाय खुल्दा पार्टी प्यालेस, चलचित्र घर, नृत्यशाला र जिमखानालगायतमा लगाइएको निरन्तरको रोकप्रति उहाँको दुःखेसो छ । महामारीका कारण डेढ वर्षदेखि व्यवसायमा परेको मर्कालाई उहाँले फेसबुकमार्फत आफ्ना भावनालाई सार्वजानिक गर्नुभएको हो । पीडा र आफ्नो दुःखान्त भोगाइलाई व्यक्त गर्न उहाँले आक्रोशको सहारा लिनुभएको छैन । 

“हाम्रो पार्टी प्यालेस, सिनेमा हल, जिम हल, डान्स हलहरु पनि मापदण्ड बनाएर चल्न दिनु पर्ने होइन र ? सम्बन्धित निकायले हाम्रो बारेमा पनि केही सोचिदिनु, बुझिदिनु पर्ने हो”, व्यवसायी श्रेष्ठले उल्लेख गर्नुभएको छ । बजार, व्यवसाय चलायमान हुँदा केही क्षेत्रमा भने अहिले पनि प्रतिबन्ध छ । महामारीको जोखिम नटरिसकेको जनाउँदै ती व्यवसायमा बन्देज लगाइराख्ने हो भने आइपर्ने समस्याको समाधानका लागि सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने उहाँको माग छ ।

उहाँले आफूहरु जनस्वास्थ्यका मापदण्ड अपनाएर सुरक्षित तबरले सेवा दिन तयार रहेको बताउनुभयो । ती व्यवसायमा श्रेष्ठको करोडौँ लगानी छ । बागलुङमा मात्र नभएर पोखरामासमेत उहाँको व्यवसाय विस्तारित छ । कैँयनलाई रोजगारी दिलाउँदै आँटिला र उदाउँदा व्यवसायीको चिनारी बनाउनुभएका ३४ वर्षीय श्रेष्ठमाथि महामारीको नमिठो बज्र परेको छ । व्यवसायलाई कसरी टिकाउने भन्ने चुनौती छ । यस्तो पीडा उहाँ एक्लैमाथि मात्र भने छैन ।

महामारी सुरु भएपछि व्यावसायिक क्षेत्र सबैतिर मारमा छ । गत असरको तह कमीबेँसी चाहिँ छ । अत्यावश्यक सेवाका पसललगायत कतिपय व्यवसाय सधैँ खुल्ने केही भने सधैँ बन्द गर्नुपर्ने स्थितिले व्यवसायी निराश छन् । उनीहरु व्यवसाय सञ्चालनमा भेदभाव गरिएको बताउँछन् । सौन्दर्य व्यवसाय, सैलुन, फुटपाथमा पनि अहिले रोक छ । व्यवसायीको माग र दबाब बढेपछि होटल, रेष्टुराँ व्यवसाय भने खुलेका छन् । सङ्क्रमण स्थिर भएर स्थिति केही सहज बन्दै गएकाले अब विस्तारै सबै व्यवसायलाई चलायमान बनाउनुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।

“पार्टी प्यालेससहित कतिपय व्यवसाय सञ्चालनमा सरकारले नै रोक लगाएकाले जिल्लातहमा निर्णय हुन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हाम्रो माग र आवाजलाई केन्द्रसम्मै पुर्याउनुपर्छ, अब बन्द गरेर मात्र हुँदैन ।” व्यवसाय निर्वाधरुपमा चल्न दिनका लागि सङ्घले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा कुरा उठाउँदै आएको उहाँको भनाइ छ ।  व्यवसायी पलायन हुने, श्रमिकले रोजगारी गुमाउने र आर्थिक क्षेत्र नै तहसनहस हुने स्थिति आउने हो कि भन्नेमा उहाँको चिन्ता छ ।

महिनौँसम्म कारोबार ठप्प हुँदा कतिपय व्यवसाय उठ्नै नसक्ने गरी थलिएका छन् । ऋणको किस्ता, ब्याज र भाडाको भारले कहिलेसम्म व्यवसायीलाई थिच्ने हो कुनै ठेगान छैन । निषेधाज्ञा खुकुलो हुँदा यसो व्यावसायिक क्षेत्रले बौरने लक्षण देखाउने गरेपछि  सङ्क्रमण उकालो लाग्दा पुनः प्रतिबन्ध खेप्नु परिरहेको छ ।

निषेधाज्ञाले मात्र पनि महामारी पूरै थामिने सङ्केत छैन । यसको चक्र लामो सयमसम्म चल्ने देखिन्छ । के अब निषेधाज्ञा थपिनै रहने कि, नयाँ विकल्पमा जाने ? भन्ने प्रश्न सतहमा आएको छ । निषेधाज्ञा हुँदा सबैभन्दा बढी गरी खाने वर्ग र व्यवसायी मार पर्छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराएर व्यापार, व्यवसायलाई पूर्ववत्रुपमा खोल्नुपर्नेमा व्यवसायी एकमत छन् ।

यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २२३ छ । दुई साताअघि त्यस्ता सङ्ख्या बढेर ७०० नाघेको थियो ।  अहिले यो सङ्ख्या क्रमशः घट्न थालेको छ । सङ्क्रमण दर घटेसँगै निषेधाज्ञा खोलिएको छ । कुन दिन फेरि सङ्क्रमण बढ्छ र व्यवसायीले सटर लगाउनुपर्ने हो, जानकारी छैन ।