• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

प्रिमियर लिगः युनाइटेडको लज्जास्पद हार, आर्सनल र सिटीको सानदार जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको सुरुवाती दुवै खेलमा पराजय बेहोरेपछि म्यानचेस्टर युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ ।

शनिबार राति सम्पन्न खेलमा युनाइटेडले ब्रेन्टफोर्डको मैदानमा ४–० को हार बेहोरेको हो ।

खेलको १० औं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाए । यस्तै, १८ औं मिनेटमा माथिअस जेन्सेनले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर पारे ।

३० औं मिनेटमा बेन मीले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–० को स्थितीमा पुर्याए । त्यसको ५ मिनेट नबित्दै अर्थात् ३५ औं मिनेटमा काउन्टर अट्याकमा ब्रेन्टफोर्डले पहिलो हाफमै ४–० को अग्रता बनायो । ब्रायन एम्ब्युमोले वन भर्सेस वनको स्थितिमा गोल गरे । दोस्रो हाफमा थप गोल हुन सकेन ।

युनाइटेड दुवै खेलमा हार बेहोरेपछि कुनै अंक नजोडी पुछारमा छ । यता ब्रेन्टफोर्ड भने ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

आर्सनलको लगातार दोस्रो जित
ब्राजिली फरवार्ड गाब्रियल जेससको उत्कृष्ट प्रदर्शनमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै सिजनमा उत्कृष्ट सुरुवात गरेको हो ।

आर्सनललाई जित दिलाउन जेससले दुई तथा ग्रानिट जाका र गाव्रियल मार्टिनेलीले एक–एक गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल गर्दा अर्को एक गोल उपहारस्वरुप पाएको थियो ।

खेलको २३औं मिनेटमा जेससको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । उनले जाकाको पासमा चिप गोल गरे । ३५औं मिनेटमा जेससले हेडमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे ।

५३औं मिनेटमा विलियन सालिवाले आत्मघाती गोल गरेपछि लेस्टरले एक गोलको ‘एड्भान्टेज’ पायो । तर त्यसको दुई मिनेटपछि अर्थात् ५५ औं मिनेटमा जेससको पासमा जाकाले गोल गर्दै आर्सनललाई ३–१ को स्थितीमा लगे ।

७४औं मिनेटमा जेम्स म्याडिसनले केलिची इहानाचोको पासमा गोल गर्दै खेललाई ३–२ को प्रतिस्पर्धात्मक स्थितिमा ल्याए । तर, ७५औं मिनेटमा जेससकै पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४–२ को सानदार जित दिलाए ।

यो जितसँगै आर्सनल दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित लेस्टर दुई खेलबाट १ अंकसहित १४ औं स्थानमा छ ।

सिटीको सहज जित
यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

साविक विजेता सिटीले लिगको दोस्रो खेलमा घरेलु मैदान इतिहाद स्टेडियममा बर्नमाउथलाई ४–० गोलले पराजित गरेको हो । सिटीका लागि इल्काए गुन्डोवान, केभिन डी ब्रुएना र फिल फोडेनले १–१ गोल गरे । एक गोल भने सिटीले उपहारस्वरुप पाएको थियो ।

खेलको १९ औं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा डी ब्रुएनाले अग्रता दोब्बर पारे ।

३५ औं मिनेटमा डी ब्रुएनाको पासमा फोडेनले चलाखीपूर्ण फिनिस गर्दै सिटीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए । दोस्रो हाफको ७९ औं मिनेट जोआओ क्यान्सेलोको क्रस बर्नमाउथका जेफर्सन लर्मालाई लागेर गोलमा परिणत भएपछि सिटी ४–० ले विजयी बन्यो ।

यस जितसँगै २ खेलमा ६ अंकसहित सिटी अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै समान खेलबाट ३ अंक जोडेको बर्नमाउथ तालिकाको १० औं स्थानमा छ ।