काठमाडौं । कोरोनाभाइरस उत्पत्तिको विषयमा नेपालले निष्पक्ष अडान लिएर आफूलाई सहयोग गरेको भन्दै चीनले नेपालको प्रशंसा गरेको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको हो ।
भाइरस उत्पत्तिलाई राजनीतिकरण नगर्न आग्रह गर्दै नेपालसहितका ८० मुलुकले विश्व स्वास्थ्य संगठनका निर्देशकलाई कूटनीतिक नोट लेखेर नेपालले सहयोग गरेको चीनले जनाएको छ ।
महामारीविरुद्ध चीनले नेपाललाई आफ्नो सहयोग निरन्तर रहने उल्लेख गर्दै आफ्नो क्षमताले भ्याएसम्म चीनले थप खोप सहयोग प्रदान गर्ने पनि प्रतिवद्धता जनाएको छ ।
कोरोना शुरु भएदेखि नै एकले अर्कोलाई समर्थन गरेको उल्लेख गर्दै चिनियाँ दूतावासका प्रवक्ताले दुई मुलुकले भाइरसविरुद्ध कसरी सहकार्य गर्नुपर्छ भनी उदाहरण देखाएको उल्लेख गरेका छन् ।
प्रवक्ताले अहिलेसम्म अनुदान र व्यापारिक रुपमा नेपाललाई ७४ लाख डोज कोरोना खोप उपलब्ध गराएको र चीन नेपाललाई खोप प्रदान गर्ने सबैभन्दा ठूलो मुलुक भएको समेत उल्लेख गरेका छन् ।










