२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुसायुक्त खाना स्वास्थ्य लागि वरदान



अ+ अ-

काठमाडौं । टुसायुक्त खाना खाने प्रचलन नयाँ होइन, तर अझैसम्म पनि हामीमध्ये धेरैलाई यसको महत्वबारे थाहा छैन । हजारौँ वर्षदेखि टुसा उमारेर खाने र यस सम्बन्धमा परीक्षण गर्ने प्रचलन रहँदै आएको छ ।

हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ, तर हामी यसको प्रयोग नियमित नभई विशेष पर्वमा मात्र गर्छौं । जुनसुकै उमेर, लिंग, जातिका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रो शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो । साथै, तयार पार्न सजिलो खाना हो ।

टुसायुक्त खाना किन खाने ?

सस्तो, पोसिलो र विकारविहीन खाना सबैको इच्छाको विषय हो । तर, धेरैमा यस्तो खाना नपाउँदाको असन्तुष्टि हुन्छ । बजारमा तरकारी र फलफूलको भाउ चर्को हुन्छ । नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो असर पार्र्छ भन्ने कुरा थाहा पाउँदा यस्ता कुराको विकल्प खोजिन्छ ।

स्वस्थ रहन सफा र सन्तुलित खाना खानुपर्ने हुन्छ, तर, पोसिलो मानिएका खानेकुरा कि महँगा हुन्छन्, कि त पाइँदैनन् । तर, प्रकृतिले हामीलाई सजिलो विकल्प प्रदान गरेको छ, ‘टुसा उमारेका खाना’ खाद्यवस्तु पोसिलो, सस्तो र केही मिसिवटरहित हुन्छन् । साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हुन् । सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्दछ ।

टुसा उमारेर खानुको अर्थ के हो ?

भिटामिन उद्योग नै घरमा खोल्न सकिने सजिलो उपाय हो ।

घरभित्रै करेसाबारी र फलफूल बगैँचा तयार गर्नुसरह हो ।

इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्नु तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नु हो ।

टुसा उमार्ने चरणहरू: अन्न तथा गेडागुडीमा टुसा निकाल्दा तीनवटा चरण हुन्छन् । यी तीन चरण पूरा गर्दागर्दै यसमा सकारात्मक परिवर्तन आउँछ ।

१) पहिलो चरण – भिजाउनु

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । राम्रोसँग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भरपर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ ।

यसैगरी गर्मीयाममा चाँडै भिज्छ भने जाडोयाममा ढिलो । राम्ररी भिजेपछि पातलो कपडामा बेरेर झुन्ड्याँउँदा चाँडै टुसा निस्कन्छ वा भाँडामा राखेर छोपे पनि टुसा उम्रन्छ ।

२) दोस्रो चरण – अंकुरित हुनु

अन्न वा गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ । यो टुसा आएपछि दानाको गुणहरूमा धेरै सकारात्मक परिर्वतन आउँछन् ।

३) तेस्रो चरण – टुसा

दोस्रो चरणमा अंकुराएको बिउबाट निस्केको टुसा बढ्दै जान्छ । बिउमा रहेको पोषकपदार्थ उपयोग गर्दै टुुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ ।

टुसायुक्त खानाको फाइदा :

पोषणयुक्त भोजन दिन्छ ।

यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउँछ ।

तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।

यो सजिलै पाच्य हुन्छ ।

अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।

हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ, तर हरियो तरकारीभन्दा धेरै सस्तो हुन्छ ।

रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।

विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।

रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ । 

(एजेन्सीको सहयोगमा)