• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै

कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी



गलकोट । बागलुङ जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी बस्न बाध्य छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा तिनलाई बस्ने ठाउँको अभाव भएको हो । पुरुषतर्फ ५० र महिलातर्फ २० क्षमता गरी ७० जनाको क्षमता रहेको कारागारमा १७६ कैदीबन्दी बस्न बाध्य छन् ।

हाल पुरुषतर्फ एक सय ६६ र महिलातर्फ १० गरी १७६ कैदीबन्दी रहेकामा एकजना ६४ वर्ष उमेर माथिका छन् । महिला कैदी बन्दीसँग हाल तीन नाबालकसमेत कारागारमा छन् । उक्त कारागारमा हाल ८१ कैदी र ९५थुनुवा रहेका छन् । कैदीतर्फ ७७ पुरुष र तीन महिला छन् भने थुनुवातर्फ ८७ पुरुष र सात महिला छन् । कारागारमा ठाउँको अभाव हुँदा महिलाभन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको हो । पुरुष कैदी तथा थुनुवालाई जाडो र गर्मी सबैखाले मौसममा बस्न र सुत्नका लागि समस्या पर्ने गरेको छ ।

कारागारमा ठाउँको अभाव हुँदा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी बस्नुपर्ने बाध्यता रहेको छ । ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न र हिँडडुलमा समस्या भएको छ भने शौचालय जान पनि पालो लगाउनुपर्ने बाध्यता रहेको कारागारका प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो ।

“कैदी बन्दी क्षमताभन्दा दोब्बर बढी छन्, ठाउँ सानो छ, पुरुष कैदी बन्दीलाई सुत्न, शौचालय जान पनि निकै अप्ठारो भएको छ” कारागार प्रमुख केसीले भन्नुभयो “महिला कैदी बन्दीलाई अहिले समस्या छैन, २० जनाको क्षमतामा १० जना मात्रै छन तर पुरुष कैदीबन्दीलाई निकै समस्या छ ।”हाल कारागारमा सबैभन्दा धेरै करणी, कर्तव्य ज्यान, मानव बेचबिखन, हातहतियार खरखजना, ठगी र वैदेशिक रोजगारी कसूरका कैदी तथा बन्दी रहेका छन् ।