काठमाडौं । नेपाली काँग्रेसले स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । मंगलबार प्रधानमन्त्री को सरकारी निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा कांग्रेसले दावि गरेको हो ।
पार्टी सभापती समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले कम्युनिस्ट सरकार हुँदा परराष्ट्र सम्बन्ध बिग्रिएको दाबी गर्दै सो मन्त्रालय आफ्नै पार्टीले राखेर राम्रो काम गर्न चाहेको बताएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले कोरोना महामारीको अवस्था रहेकाले स्वास्थ्य मन्त्रालय पनि प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने भएकाले त्यसमा पनि पार्टीकै दाबेदारी पेस भएको एक नेताले बताए ।
यसअघि नै काँग्रेसले आकर्षक मानिने गृह र कानुन मन्त्रालय पाइसकेको छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।
सरकार गठन भएको ५० दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका प्रधानमन्त्री देउवाले सत्ता सहयात्री दलहरूसँग छलफल तीव्र बनाएपनि मन्त्रालयका विषयमा भागबण्डा नमिल्दा कहिले मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन ।










